पाँचथर । बाढीले डाइभर्सन बगाएपछि मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडकखण्ड फेरि अवरुद्ध भएको छ ।
लगातारको वर्षाका कारण आएको बाढीले बिहीबार बिहान फिदिम–४ र हिलिहाङ–७ लाई जोड्ने हेवाखोलामा बनाइएको डाइभर्सन बगाएको हो ।
असार २ गते आएको बाढीले हेवाखोला पुल बगाएपछि डाइभर्सन गरेर यातायात सुचारु गरिएको थियो । यसअघि असार १२,१३ र १८ गते बनाइएका डाइभर्सन पनि बाढीले बगाएको थियो । पछिल्लो पटक असार २५ गते पेनस्टक पाइप राखेर डाइभर्सन गर्दै सडक खुलाइए पनि दुई दिन नबित्दै पुनः बगेको हो ।
बाढीले डाइभर्सनको सतह पार गर्दै छेकबारका लागि राखिएका ढुंगामाटो सबै बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हरि खतिवडाले जानकारी दिए । सो स्थानमा एक साताभित्र बेलिब्रिज निर्माण गर्ने भनिएको भएपनि एक महिना वित्नलाग्दा समेत काम सकिएको छैन ।

