विराटनगर । तत्कालीन सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाएपछि मुलुक अघोषित द्वन्द्वमा फसेको थियो । विप्लव नेकपाले शृंखलाबद्ध बम बिस्फोट गरेर सरकारलाई चुनौती दिँदै आएको थियो ।

अहिले भने नेकपाले शान्तिपूर्ण राजनीति गरीरहेको छ । । तत्कालीन सरकारसँग तीन बुँदे सहमति गरेर विप्लव नेकपा शान्तिपूर्ण राजनीतिमा आएसँगै उसका गतिविधि फेरिएका छन् । ‘एकीकृत क्रान्ति’को नारा बोकेर हिँडेको नेकपा यतिबेला संगठन विस्तारलाई उत्पादनसँग जोड्न थालेको छ । बाँझो रहेका खेतबारीहरू हरियाली बनाउँदै संगठन विस्तार गर्ने योजनामा नेकपा छ । पार्टीले झापा, ईलाम, पाँचथर लगायतका जिल्लामा सामूहिक खेती गरिरहेको छ । जग्गा लिजमा लिएर नेकपाले खेती गरिरहेको हो।

पार्टीका सदस्यलाई उत्पादनसँग जोड्न सामूहिक खेती गरिरहेको नेकपाका मेची इन्चार्ज सुमन सिंहले बताए ।

बसाइँसराइँले पहाडका जिल्लाका खेतबारी बाँझै छन् भने तराईमा प्लटिङले खेती मासिँदैछ । खेतबारी बाँझै राखेर किनेर खाने जमात बढिरहेका बेला विप्लवका कार्यकर्ता सामूहिक खेतीमा जुटेका छन् ।

झापाको गौरीगञ्जमा २ बिघा जग्गा भाडामा लिएर सामूहिक धानखेती शुरू गरिएको छ भने दमकमा १ बिघा जग्गा लिजमा लिएर खेती गरिएको छ । कन्काई नगरपालिका, शिवसताक्षी नगरपालिकामा कागती खेती, बाख्रापालन पनि गरिरहेका छन् ।

ईलाममा ३ हजारभन्दा बढी चियाका बिरुवा नेकपाका कार्यकर्ताले रोपेका छन् भने पाँचथरमा अम्लिसो, अदुवा लगायतका खेती पनि गरिरहेका छन् ।

पछिल्लो समय हरेक क्षेत्रलाई उत्पादनसँग जोड्नुपर्ने आवाजहरू उठिरहेका छन् । अनिवार्य श्रम र उत्पादनमा जोडेर केही बाँझो भूमिलाई हरियाली बनाउनुपर्छ भन्ने योजना रहेको इन्चार्ज सुमन सिंहले बताए ।

लगिि‘पार्टीका सदस्यलाई उत्पादनमा जोड्नका लागि हामीले कृषि क्रान्तिको योजना बनाएका हौं,’ उनले भने, ‘आत्मनिर्भर नबन्दा अर्बौं रुपैयाँ विदेशमा गएको छ । नेपालमा उत्पादन नहुने वस्तु मात्रै आयात गरियोस् भन्ने पार्टीको योजना छ ।’

आउँदो वर्षसम्ममा मेचीका सबै पालिकामा सामूहिक खेती गर्ने योजना रहेको उनले सुनाए । समय बनाएर आलोपालो गरेर संगठित सदस्य र पार्टीका शुभचिन्तकहरूबाट खेती गरिने उनले बताए ।

नेपालमा कम्युनिस्ट पार्टीले मुलुकलाई स्वाधीन र आत्मनिर्भर बनाउनुपर्छ भन्ने पार्टीको योजना रहेकाले श्रम र उत्पादनसँग जोडिनुपर्छ भनेर अभियान सञ्चालन गरेको नेताहरू बताउँछन् । उत्पादन र श्रममा जोडिने बेलामा को नेता को कार्यकर्ता भन्ने नहुने भएकाले नेपालमा कम्युनिस्ट पार्टीमा बस्ने नेतादेखि कार्यकर्तासम्म उत्पादनमा जोडिएका छन् भन्ने देखाउने सुमन सिंहले बताए । उत्पादनसँग जोडिएपछि पार्टीमा लागेका कोही पनि भोकै बस्न नपर्ने दाबी नेताहरूले गरेका छन् ।

कृषिबाट उत्पादित वस्तुले पार्टीलाई चलायमान बनाउने योजना नेकपाको छ । नेकपाले देशैभरका कार्यकर्तालाई असार १० देखि ३० गतेसम्म अनिवार्य उत्पादनसँग जोडिनका लागि भूगोलबाट बिदा दिएर पठाएको छ । नेकपाका नेता, कार्यकर्ता २० दिनसम्म उत्पादनका कामसँग जोडिने छन् ।

‘आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर उत्पादन, आत्मनिर्भर पार्टी र आत्मनिर्भर नेता एवं कार्यकर्ता’ नारा लिएर नेतादेखि कार्यकर्तासम्म यतिबेला खेतबारीमा छन् ।

लगििकृषिभित्र देखिएको बेथिति हटाउने नेकपाको लक्ष्य छ । अनुदानमुखी कृषिभन्दा पनि प्रविधिमैत्री कृषि र उत्पादित वस्तुको बजारीकरण पहिलो प्राथमिकता हुने नेकपाका नेताहरूको दाबी छ ।

‘दुःख गरेर उत्पादन गरिएको कृषि उत्पादनले बजार र मूल्य नपाउँदा किसान सधैं पीडामा रहेको देखेका र हामीले पनि भोगेका छौं,’ इन्चार्ज सिंहले भने, ‘अबको पहिलो हाम्रो क्रान्ति भनेको बजारीकरण नै हो ।’ उत्पादन प्रणालीमा सबैलाई आबद्ध गर्ने र श्रमको सम्मान गर्ने सिंहले बताए ।

उत्पादित वस्तुले लागत मूल्य पनि नपाउने र कतिपय उत्पादन बिक्री नभई खेर जाने अवस्थाको अन्त्य गर्ने भन्दै बम–बारुद र हत्याहिंसा त्यागेर खेतीपातीमा लागेको नेकपाको कृषि क्रान्तिको योजनाले कति सफलता पाउँछ रु त्यो बाँकी छ ।