दमक । झापाको गौरीगञ्ज गाउँपालिका–२ स्थित दशगजामा रहेको सीमा स्तम्भ कमल खोलाको बाढीले बगाएको छ ।
निरन्तर वर्षासँगै कमलखोलामा आएको बाढीले दशजगामा रहेको १४०(१५) नम्बरको सीमा स्तम्भ बगाएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार शुक्रबार दिउँसो आएको बाढीले सीमा स्तम्भ बगाएको हो । सीमा स्तम्भको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।
झापामा असार २६ गतेदेखि आएको अविरल वर्षाले जिल्लाका विभिन्न स्थान डुबान पर्नुका साथै सयौँ घर विस्थापित भएका छन् । दमक–४ ताराबारीस्थित मावा खोलाको बाढीले करिब ५० मिटर लम्बाइ र पाँच मिटर चौडाइ क्षेत्रमा कटान गरेको छ ।
उता बाह्रदशी–२ स्थित अदुवा खोलामा आएको पानीको बहाव बढ्दा सुकुम्वासी बस्तीका ४५ घरपरिवार विस्थापित भएका छन् भने गौरादह नगरपालिका–५ चप्रामशी डुब्बाटोल स्थितमा चन्दु खोला र रतुवा खोलाको बाँध पानीले कटान गर्दा २६ घरपरिवार विस्थापित भएका छन् ।

