बुधबार विराटनगरको दुधफारम नजिकै साइकल चालकलाई विपरीत दिशाबाट आएको एउटा कारबाट ओर्लेर एक युवकले बडो कडा मुक्का प्रहार गरेर साईकल चालकलाई बङ्गलङ्ग ढालेको र अचेत युवालाई सडकमा घिसारेर साइड लगाएको दृश्य भाइरल छ ।
रातिको समय अनि सुनसान सडक । यस अवस्थमा बेस्करी गाडी हुँइक्याउने मन कसलाई नहोला ? त्यसमा पनि भर्खरका युवा अनि मदिरापान । संसार जित्ने जोसको वेलामा विपरीत दिशाबाट साइकलले लेन काटेर आएको देखेपछि रिस उठ्नु स्वाभाविकै होला । तर रिस उठेपछि अरुको ज्यानै मार्ने ? अचेत भएर लडेपछि मानवीय सेवा गर्नुको सट्टा सडकमा कसरी घिसार्न सके ? यसले हाम्रो संस्कार कता जाँदैछ र युवा पिंढीमा मानवता कति हराइसकेको रहेछ त ?
सम्पत्ति कमाउने होडमा र सफलता चुम्ने दौडमा घर–परिवार, नैतिकता र अनुशासन बिर्सने धेरै छन् । मेहनतका कारण सफलता मिलेका पनि देखिन्छ । तर सफल ती अभिभावकहरुको अथाह सम्पत्तिले नाबालक अवस्थामा नै सन्तानहरु धुम्रपान÷मद्यपान कुलतमा फसेका उदाहरणहरु हाम्रो समाजमा धेरै छन् । साथीहरुसँग जमघट, अत्यधिक रक्सी सेवनलाई त अपराध मानिदैन । यसका लागि उमेर चाहिँदैन । २० वर्षको उमेर नपुग्दै गाडी किनिदिने, घरमा रक्सी सेवन गरेर ढिला आए पनि छुट दिने परिपाटि बढ्दै गएको छ ।
जिम्मेवार सन्तानले अभिभावकको मेहनतलाई आत्मसाथ गरेर अगाडि बढेका पनि धेरै उदाहरणहरु यहि समाजमा छन् । तर यिनै स्वतन्त्रताले सडक दुर्घटना तथा अपराधिक घटनाहरु पनि हुने गरेका छन् । पछिल्लो समयमा सम्पत्ति र राजनीतिक शक्तिले मात लागेका युवाहरु सकारात्मक परिवर्तन भन्दा पनि अरुलाई मान्छे नदेख्ने, धाकधम्की दिने स्वभावका देखिन थालेका छन् । यस्ता युवाहरुमा श्रमजीवि, मेहनती विशेषगरी कम आय भएका निम्नवर्गका, त्यसमा पनि मधेशीमूलका व्यक्तिहरुमा शोषण गर्ने, धाक देखाउने प्रवृत्ति बढेको पाइन्छ । यस्ता गैर मानवीय व्यवहार पछिल्लो समयमा संस्कार बन्दै गएको छ ।
‘यत्रोबाटो हुँदाहँुदै हाम्रो लेनमा आउनुपर्ने, यसको यत्रो हिम्मत !’ सायद यहि कुरा मनमा खेलेको हुनुपर्छ । यसलाई मारे नि केही हुँदैन, केहि परे बाउले बचाइहाल्छ नि । यस्तै–यस्तै भएको हुनुपर्छ । १८–१९ वर्षको ठिटोलाई रातिराति मदिरा सेवन गरेर गाडी कुदाउने वातावरण कसरी बन्यो ? भाइरल भएको सो मुक्का प्रहार हेरेर सबैको आङसिरिङ्ग भए होला । कस्तो अपराधी रहेछन् भन्ने सबै होला । तर, पनि उनको वकालत गरिदिने र उसलाई माफ हुनुपर्छ भन्ने रहेसम्म समाजमा अनुशासन कसरी कायम हुन्छ ? यो लडाइँ पवन साहको होइन । यो एउटा जात र वर्गको मात्र पनि होइन । उनलाई हुने कारबाहीले स्वतन्त्रताले ल्याएको यो गैर मानवीय अपराध माथिको नियन्त्रण पनि हुनेछ । अनुशासन र मानवीय संस्कारको सम्मान पनि हुनेछ ।
यसका विरुद्धमा समयमा नै राज्य सत्ताबाट न्याय नपाए, फेरि समाजिक क्रान्ति नहोला भन्न सकिन्न । यसरी मिडियाहरुले यस समाचारलाई स्थान दिंदै समाजिक रुपमा अगाडि बढाएका छन् र प्रहरी–प्रशासनले कारबाही अगाडि बढाएको छ । त्यसरी नै पछि कारबाही होस् र समाजिक सद्भाव कायम रहोस् । पैसा र पावरले समाजिक अन्याय नहोस् ।


























1 प्रतिक्रिया
1 प्रतिक्रिया
Excellent…. Racism and dominant nature of the rich people and their dominating nature should be end. Such laws and policies should be implemented and regulated for these types of behaviour.
प्रतिक्रियाहरू बन्द छन्।