विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धब थापाको नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।

प्रदेश प्रमुख परशुराम खापुंगले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रुपमा नियुक्त गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएको रिटमा सकिएको हो । रिटमाथि सुनुवाइ सकिएको एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेबतीरमण भण्डारीले जानकारी दिए ।

रिटमाथि लगातार तीन दिन तोकिएको पेशीमा सुनुवाई हुन नसकेकोमा आज चौथो दिन न्यायधीश सपना मल्ल प्रधानको इजलासमा सुनुवाइ सुरु भएको हो । नेपाली कांग्रेसका उद्धव थापालाई सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरका आधारमा मुख्यमन्त्री नियुक्त गर्न असंवैधानिक भएको भन्दै कार्कीले नियुक्ति खारेज गर्न रिट दायर गरेका हुन् ।

रिटमा संविधानको धारा १६८ (२) अनुसार थापाको नियुक्त अबैध भएकोले खारेज गरि १६८(३) अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसमेत गरिएकोक छ । रिटमाथि आइतबार न्यायाधीश डा.आनन्दमोहन भट्टराई, सोमबार सुष्मालता माथेमा र मंगलबार न्यायधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेश तोकिएको भएपनि ‘हेर्न नभ्याइने’ परेको थियो ।

कार्कीको रिटमा थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख गौतम र नवनियुक्त मुख्यमन्त्री थापालाई विपक्षी बनाइएको छ । रिटमाथि कार्कीको तर्फबाट बरिष्ठ अधिवत्ता शम्भू थापा, डा.भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञावली, डा।सूर्य भण्डारी, टिकाराम भट्टराई, केदार दाहाललले बहस गरेका छन ।