विराटनगर । झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहसहित ११ जना विरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले बुधबार विज्ञप्ति जारी गरी साहसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिएका हुन् ।

अध्यक्ष साहसँगै तत्कालीन गाउँपालिका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास, वि–इन्जिनियर विज्ञान चम्लागाँईविरुद्व गाउँपालिकास्थित लक्ष्मीमार्ग सडकखण्ड अन्तर्गत हनुमान चोकदेखि सिमलबाडीसम्म सात किलोमिटर बाटो बनाउन आर्थिक वर्ष २०७४/७५ मा २२ लाख ९ हजार ८२३ रुपियाँ रकम हिनामिना भएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ।

गाउँपालिकामा शाह अघिल्लो पटक पनि अध्यक्ष नै थिए । उनी र उपाध्यक्ष दुबै नेपाली काँग्रेसबाट निर्वाचित भएका हुन् ।

लक्ष्मीमार्ग उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फणिन्द्रप्रसाद खरेल, कोषाध्यक्ष शान्तादेवी सुब्बा, तत्कालीन वडा नं.६ का अध्यक्ष हरिबहादुर बानिया, वडा नं.  ७ का अध्यक्ष नेत्रप्रसाद उप्रेती र वडा नं. ३ का अध्यक्ष मोतिलाल गणेशविरुद्व भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना हुन मागदाबी दिइ बुधबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ।

झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले उपभोक्ता समितिलाई वास्तविकभन्दा बढी भुक्तानी दिने बदनियतले गलत सिफारिस गरेकाले कानुनबमोजिम कैद र जरिवानाको गरिएको छ ।

गाउँपालिकाका तत्कालीन उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी अनुगमन तथा सुपरिवेक्षण समितिको संयोजक रहेको र अनुगमन समितिको उपस्थितिमा भएको बैठकमा उल्लेखित योजना सम्पन्न भइसकेको भनी निर्णय गरी प्राविधिक मूल्याङ्कन अनुसारको रकम उपभोक्ता समितिलाई भुक्तानी गर्न सिफारिस गरेको आरोपमा कानुन बमोजिम कैद र जरिवाना हुन मागदाबी गरिएको छ ।