विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धब थापाको नियुक्ति विरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।
प्रदेश प्रमुख परशुराम खापुंगले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रुपमा नियुक्त गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिएको रिटमा सुनुवाइ भइरहेको हो ।
रिटमाथि लगातार तीन दिन तोकिएको पेशीमा सुनुवाई हुन नसकेकोमा आज चौथो दिन न्यायधीश सपना मल्ल प्रधानको इजलासमा सुनुवाइ सुरु भएको हो । नेपाली कांग्रेसका उद्धव थापालाई सभामुख बाबुराम गौतमसमेतको हस्ताक्षरका आधारमा मुख्यमन्त्री नियुक्त गर्न असंवैधानिक भएको भन्दै कार्कीले नियुक्ति खारेज गर्न रिट दायर गरेका हुन् ।
रिटमा संविधानको धारा १६८ (२) अनुसार थापाको नियुक्त अबैध भएकोले खारेज गरि १६८(३) अनुसार आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको मागसमेत गरिएकोक छ । रिटमाथि आइतबार न्यायाधीश डा.आनन्दमोहन भट्टराई, सोमबार सुष्मालता माथेमा र मंगलबार न्यायधीश तिलप्रसाद श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेश तोकिएको भएपनि ‘हेर्न नभ्याइने’ परेको थियो ।
कार्कीको रिटमा थापाले सभामुखसमेतलाई जोडेर दाबी पेस गर्दा मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख गौतम र नवनियुक्त मुख्यमन्त्री थापालाई विपक्षी बनाइएको छ । रिटमाथि कार्कीको तर्फबाट बरिष्ठ अधिवत्ता शम्भू थापा, डा.भीमार्जुन आचार्य, चन्द्रकान्त ज्ञावली, डा.सूर्य भण्डारी, टिकाराम भट्टराई, केदार दाहाललले बहस गर्दैछन् ।