सुरक्षित आकाशको शर्त

 सम्पादकीय

कोशी प्रदेशको आकाशमा फेरि अर्को हवाई दुर्घटना भएको छ । मंगलबार बिहान मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा पाँच जना मेक्सिकन नागरिक र पाइलट चेतबहादुर गुरुङको मृत्यु भएको छ । दुर्घटनाबारे अनेक अनुमान जारी छन् । यद्यपि विस्तृत छानबिनपछि मात्रै घटनाको कारण प्रष्ट होला । तर, प्रारम्भिक अनुमान अनुसार खराब मौसममा हेलिकप्टरले मौसमी लय बुझ्न सकेन । जसका कारण यो विभत्स दुर्घटना भयो । दुर्घटनाले नेपाल घुम्न आएको एउटा मेक्सिकन परिवार उजाडिएको छ । पाइलट गुरुङ पनि अस्ताएका छन् । उनीहरुको जीवनको क्षतिको भर्पाइ कसैगरी सम्भव छैन । सँगै यो घटनाले फेरि एकपटक नेपालको पर्यटन, असुरक्षित आकाश र हवाई सुरक्षाबारे प्रशस्त प्रश्न पनि जन्माउनेछ ।

उड्डयन क्षेत्रमा नियमित अन्तरमा भइरहने यस्तो दुर्घटनाले पर्यटन क्षेत्रले भोलिका दिनमा बेहोर्नुपर्ने चुनौती झनै डरलाग्दो बनाउने खतरा बढाउँछ । त्यसै पनि युरोपेली उड्डयन क्षेत्रले नेपाली आकाशलाई हवाई सुरक्षाका दृष्टिले न्यूनतम मापदण्डसमेत पूरा नगरेको भन्दै कालोसूचीमा राखेको धेरै भइसकेको छ । मंगलबारको दुर्घटनाले पनि फेरि एकपटक विश्व समुदायलाई भस्काएको छ । मेक्सिकोबाट नेपालको हिमाली दृश्य अवलोकनका लागि आएका पर्यटक नै परेपछिको घटनाले झनै विश्व पर्यटन क्षेत्रमा नेपालका लागि सुखद् सन्देश प्रवाहित हुनै सक्दैन । यस्ता घटनाले पुर्याउने क्षतिको भर्पाइ कसरी गर्ने ? र, आगामी दिनमा नेपालको आकाशलाई कसरी सुरक्षित तुल्याउने यसबारे पर्याप्त घोत्लिन जरुरी छ, सरकार र उड्डयन क्षेत्र दुवैले ।

भनिन्छ, दशा बाजा बजाएर आउँदैन । नेपाली जनबोलीले दशा मान्ने दुर्घटना पनि पूर्व जानकारीसहित हुने कुरै हुँदैन । यद्यपि पर्याप्त सजगताका लागि प्रयास गर्न सकिन्छ । पहाडी तथा हिमाली क्षेत्रमा अझैसम्म पनि मौसम सम्बन्धि जानकारी दिने भरपर्दो प्रणाली जडान हुन सकेको छैन । यसले जुनसुकै बेला पनि उडान गर्नुपर्ने र जहाँ पनि अवतरण गर्नुपर्ने हेलिकप्टरको यात्रामा असर पारिरहेको छ । हवाई यात्रालाई जोखिमपूर्ण तुल्याइरहेको छ । हिमाली तथा पहाडी भूभागमा मौसमबारे पूर्वानुमान गर्ने तथा मौजुदा अवस्थाबारे यथार्थ जानकारी दिने प्रणाली र प्रविधि राख्नुपर्ने आवश्यकता टड्कारो छ । यसबाहेक उडान दलका पाइलटसहित विमान वा हेलिकप्टर कम्पनीहरुले पनि पर्याप्त सजगता अपनाउन उत्तिकै जरुरी छ ।

त्यसो त नेपालमा हवाई दुर्घटनाको दर निकै बढी छ । मूलतः सुगम क्षेत्रमा उडान गर्ने जहाजहरू सुरक्षित नै जस्तो देखिए पनि दुर्गम क्षेत्रमा यो समस्या बढी नै छ । दुर्गमका लागि सबैभन्दा छिटो यातायात सुविधा भनेकै हेलिकप्टर वा हवाईजहाज भएकाले सोही क्षेत्रमा केन्द्रित भएर उडान हुने कम्पनीकै संख्या बढिरहेको छ । यसले पनि नेपालको हवाई सुरक्षा चुनौतीपूर्ण बनेको छ । अर्कातर्फ नेपालको मौसम प्रक्षेपण गर्ने निकायको प्रभावकारिता नहुँदा पनि सम्भावित दुर्घटनाबाट पूर्वसतर्कता राख्न सकिएको छैन । सोलु र त्यस्तै े दुर्घटनाको श्रृंखला हालसम्म आइपुग्दा कुनै पनि छानबिन गम्भीर रूपमा भएको र सो छानबिनका प्रतिवेदन कार्यान्वयनमा तदारुकता देखाइएको पाइएको छैन । राज्यका विभिन्न संयन्त्रहरू जसरी तदर्थवादी शैलीमा चलिरहेका छन्, ठीक त्यसैगरी हवाई सुरक्षाका क्षेत्रमा काम भइरहेका छन् । यस्तो तदर्थवादी कार्यशैलीले पनि बारम्बार दुर्घटना निम्त्याइरहेको छ ।

बुधबार, २७ असार, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर