विराटनगर । ललितानिवास जग्गा घोटला काण्डमा आरोप प्रमाणित नहुँदै पक्राउ गर्ने र थुन्ने जस्ता घटनाले व्यवसायीहरुमा त्रासको अवस्था सिर्जना गरेको भन्दै विराटनगरका दुई व्ययवसायिक संस्थाहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष भीम घिमिरेले मंगलबार प्रेस विज्ञप्ति जारी गरी सरकारले सुनुवाइको मौकासमेत नदिई उद्योगी व्यवसायीलाई पक्राउ गर्ने, थुन्ने जस्ता कार्य गरेको आरोप लगाएका हुन् । उनीहरुले सरकारको यस प्रकारको व्यवहार न्यायसंगत नभएको भन्दै घटनाको मूल जरोसम्म नपुगी पक्राउ गर्ने र थुन्ने कदमले त्रासको वातावरण बनेको उल्लेख गरेका छन् ।

आर्थिक क्षेत्रले अनेकन समस्या भोगिरहेको र व्यवसायिक क्षेत्र हतोत्साही बनेको बेला भएका यस प्रकारका कार्यले सरकार मुलुकलाई असफल बनाउन उद्यत रहेको विज्ञप्तिमा उल्लेख छ ।

ललितानिवास जग्गा प्रकरणमा व्यवसायीहरुलाई लक्षित गरेर पक्राउ पूर्जी जारी गर्ने कार्यले निदोषहरुसमेतले सास्ती व्यहोर्नु परेको भन्दै मुख्य दोषीहरुलाई कारवाहीको दायरामा ल्याउन र त्यसपछि कारोवार राज्यका निकायमा भएका निस्सा र रेकर्डहरुका आधारमा हुने भएकोले पछिल्ला दिनमा संलग्न भएकाहरुलाई कारवाहीको दायरामा ल्याउन नहुने उनीहरुको भनाइ छ । नागरिकले राज्य र राज्यका नियकायहरुकै विश्वास गर्ने भएकोले त्यस्ता निकायमा बदमासी गर्नेहरुलाई कारवाही गरी निदोर्षहरुलाई कारवाहीको दायरामा ल्याइन नहुने विज्ञप्तिमा भनिएको छ ।

जारी विज्ञप्तिमा उद्योगी व्यवसायीलाई त्रसितबनाइ भागाभागको स्थिति बनाइको भन्दै दोषी नठहरिँदै दोष प्रमाणित भए जसरी व्यवहार गरिएकोमा विरोध गरिएको छ ।