काठमाडौ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ललिता निवास प्रकरणमा कतिपय अतिरञ्जित र भ्रामक समाचार प्रकाशन तथा प्रसारण भएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सीआईबीले विज्ञप्ति जारी गर्दै सीआईबीले ललिता निवासको १४३ रोपनी सरकारी जग्गा संगठित रूपमा सरकारी छाप तथा दस्तखत कीर्ते गरी व्यक्तिको नाममा हक हस्तान्तरण गर्ने कसूरमा मात्र केन्द्रित रहेको बताएको छ।
‘हाल केही दिनदेखि विभिन्न संचारमाध्यम, सामाजिक सञ्जालहरुमा प्रस्तुत कसूरको तथ्यगत विषयहरुलाई अन्यत्रै मोडी कसूरसँग असम्बन्धित व्यक्ति तथा पदाधिकारीहरूको नामसमेत जोडी अतिरञ्जित र भ्रामक रुपमा केही समाचार तथा विज्ञप्तिहरूमा प्रकाशित सामग्रीप्रति यस व्यूरोको गम्भीर ध्यानाकर्षण भएको छ।’प्रहरीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।
केही दिनयता माओवादी नेता दीनानाथ शर्माविरुद्ध पक्राउ पुर्जी जारी गरिएको भन्दै सामाजिक सञ्जालमा फैलिएपछि सीआईबीले विज्ञप्ति जारी गरेको हो ।

