काठमाडौँ । परराष्ट्र मन्त्री एनपी साउदले, प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा नेपालको उत्तरी नाकामा देखिएका समस्या समाधानका लागि ठोस पहल हुने विश्वास व्यक्त गरेका छन् ।

प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले उत्तरी नाका नियमित गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले भने ‘विशेष गरी उत्तरतिरका नाकाको विषयमा भूकम्पदेखि नै रेगुलर हुन नसेको हो । भरखरै रसुवा नाका खुलेको छ । त्यहाँ केही इस्युहरु छन् छलफल गरिने छ । तातोपानी नाका खोल्ने प्रयास भइरहेको छ । कोरला नाकाको हकमा पनि दुई तीरको सडक पनि दुर्घटना नहुने खालको हुनुपर्छ ।’
उनले नाका खोल्ने विषयमा पटक पटक चीन सर कारसँग कुरा भएको बताएका छन् ।प्रधानमन्त्रीको आगामी चीन भ्रमणका क्रममा यो विषयमा ठोस पहल हुने उनको भनाई छ । ‘हामीले पटक पटक कूटनीतिक पहल गरेका छौँ । हाम्रो चीन सर कारसँग छलफल भएको छ । आगामी प्रधानमन्त्रीको चीन भ्रमणको सिलसिलामा पनि यी नाकालाई अद्यावधिक गर्ने कुरामा विमर्श हुनेछ भन्ने कुरा म साथीहरूसँग राख्न चाहन्छु ।’

त्यस्तै नेपाललाई नयाँ एयर रुटको आवश्यकताबारे समेत सरकार गम्भीर रहेको बताएका उनले भने ‘यसका लागि सम्बन्धित निकायसँग छलफल भइरहेको म स्पष्ट पार्न चाहन्छु । ’‘एयर इन्ट्रिको विषयमा पनि छलफल कुराकानी चलिराख्या छ’उनले भने ।छलफलमा पूर्व परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले, परराष्ट्र मामिला बाहिरबाट हेरेको जस्तो सजिलो नरहेको भन्दै चीन र भारतसँगको सम्बन्धलाई व्यवस्थित गर्नु पर्ने बताए ।

उनले भने ‘परराष्ट्र हामीले हेरेको जस्तो सरल छैन, धेरै जटिल छ । उपत्यका बाहिर बाहिरबाट आउने परिवर्तनका सङ्केतहरू छन् । त्यसलाई हामीले कसरी हाम्रो रेडरमा राख्ने, त्यसलाई अध्ययन गर्ने, त्यसलाई हामीले कसरी डिल गर्न सक्छौ र इन्डिया र चाइना सम्बन्धको बिचमा हामीले कसरी ती कुराहरूलाई आफ्नो हितमा ल्याउने सबै कुराहरू छन् यसलाई कसरी व्यवस्थित गर्ने भन्ने कुरा महत्त्वपूर्ण छ ।’उनले परराष्ट्र मामिलामा राष्ट्रिय एकता आवश्यक रहेको बताए ।

‘परराष्ट्रले जतिसुकै कोसिस गरे पनि देशको राजनीतिक परिस्थिति जबसम्म ठिक हुदैँन्, एकमतले हुदैँन्, फाइल हुदैँन् । हामीले जतिसुकै काम गरे पनि हामी कमजोर नै ठहरिन्छौ । यसलाई एउटा राष्ट्रिय आवाजको रूपमा हाम्रो पोलिसिहरुलाई लानको लागि पनि मन्त्रीले पहल गर्नुहुन्छ भन्न चाहन्छु ।’