संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका–२ मा भालुको आक्रमणमा परिगम्भीर घाइतेलाई हेलिकप्टर मार्फत काठमाडौँ लगिएको छ ।

भालुको आक्रमणबाट गम्भीर घाइते भएका मकालु–२ सेदुवाका ३० वर्षीय राम बहादुर राईलाई आज हेलिकप्टर मार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक भुवन बाबु खड्काले जानकारी दिए ।

गम्भीर घाइते राईको प्राथमिक स्वास्थ्य केन्द्र नुममा उपचार हुन नसकेपछि थप उपचारका लागि सोमबार बिहान हेलिकप्टर मार्फत काठमाडौँ लगिएको प्रहरी निरीक्षक खड्काले बताए । राईलाई आइतबार बिहान १० बजे मकैवारिमा आएको भालु धपाउन जाने क्रममा आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो ।

राईको अनुहार, टाउको, हात र ढाडमा गहिरो चोट लागेको छ । यो मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्र भएका कारण जङ्गली जनावरको आँतक बढेको स्थानीयको भनाइ छ । निकुञ्जका जङ्गली भालुको आक्रमण बाट यसै वर्ष मात्र आधा दर्जन बढी घाइते भइसकेका छन् ।