गोकुल पराजुली
विजय मल्लको एउटा सशक्त कथा छ ‘अन्तिम भोज’ । जुन कथा आज हाम्रो समाज र राजनीतिक अवस्थासँग ठ्याक्कै मिल्छ । धेरैअघि लेखिएको कथा अहिले पनि सान्दर्भिक र जीवन्त छ । अझ कोशी प्रदेशको राजनीतिसँग मिलाएर हेर्ने हो भने त अझ धेरै यथार्थपरक लाग्छ ।
अन्तिम भोज कथामा म पात्रको रुपमा प्रस्तुत भएका कथाकार मल्ल घुम्दैफिर्दै एउटा भव्य भोजमा पुग्छन् । संसारभरका विशिष्ठ व्यक्तिहरु सामेल भएको भोजमा उनी भोकाएर पुगेका थिए । यति ठूलो र भव्य भोज कसले किन आयोजना गरेको हो भन्ने विषयमा उनी अनविज्ञ थिए । तर भोज खानका लागि उनी यति लालायित थिए कि थप भोक खप्न सक्ने अवस्थामा थिएनन् ।
भव्य भोजमा सबै रमाइरहेका थिए । टेबल टेबलमा विशिष्ठ पाहुनाहरु थिए । विशिष्ट पाहुनाका अगाडि अनायासै पाहुना बन्न पुगेका साधारण नेपाली सबैसँग परिचय गर्दै भोजमा सामेल हुन्छ । तर त्यो भोज सबै मानवकै लागि अन्तिम भोज थियो । भोलिपल्ट पृथ्वीको विनास हुँदैथियो । मानिसले आविश्कार गरेको विशाल र शक्तिशाली अणुवमहरु एकै पटक पड्काएर पृथ्वीलाई टुक्राटुक्रा पारिदैथियो र सम्पूर्ण मानवजातिकै विनासको अघिल्लो दिन आयोजना गरिएको विशाल भोजमा मानिसहरु थरिथरीका पकवान खाँदै सोमरस पिउँदै झुमिरहेका थिए । लाग्छ उनीहरुलाई जीवनको कुनै चिन्ता थिएन । निस्फिक्री उनीहरु रमाइरहेका थिए ।
कोशी प्रदेशको राजनीतिलाई अन्तिम भोज कथासँग जोड्ने हो भने ठ्याक्कै उस्तै अवस्था अनुभूत हुन्छ । कोशी प्रदेशमा यतिबेला अन्तिम भोज चलिरहेको अनुभूति जो कोहीले गरेकै छन् । यो भोज भोलि कसैले आयोजना गर्ला कि नगर्ला ? यस्तो भोजमा चिठ्ठा परेर मेरो उपस्थिति होला कि नहोला ? यि सब कुरा अनिश्चिताको बादलभित्रै देखेपछि भोज आजै खानु पर्छ भन्ने मान्यतामा तँछाड मछाड भइरहेको छ ।
एकातिर सत्ताको सिर्जना गलत तरिकाले गरिएको छ । सभामुखलाई सरकार गठनमा सहभागी गराएर संवैधानिक व्यवस्था कुल्चिएर जोरजबर्जस्ती सत्ता सिर्जना गरिएकोमा दुईमत छैन । यो प्रकरण अदालतबाट पटाक्षेप हुने सम्भावना उच्च छ । यस्तो बेलामा पनि सत्ताको भोजमा सहभागी हुने उग्र आशक्ति छ । भोलि पृथ्वी नष्ट हुँदैछ भन्ने थाहा पाएर पनि जसरी हजारौं मानिसहरु निस्फिक्री भोजमा भाग लिइरहेका थिए त्यसैगरी यो सत्ताको भोजमा पनि नेताहरु निस्फिक्री भाग लिइरहेका छन् ।
यहाँ लोकतान्त्रिक र संसदीय मूल्य मान्यतामा आघात परेकोमा चिन्ता छैन उल्टो भोजमा सहभागी हुन नपाउँदा वा कमसल टेबलमा बस्नु पर्दा रोइलो छ । प्रदेश संरचनाप्रति जनता आशावादी छैनन् । खारेज गर्नुपर्छ भन्ने आवाज मुखरित भइरहेका छन् । अनि यस्तो बेलामा आयोजना हुने यस प्रकारको आत्मघाती भोजहरुमा बिन्दास झुम्नु भनेको अन्तिम भोजकै पुनरावृत्ति हो । जो आफू उभिएको धर्ती भासिँदैछ भन्ने जान्दाजान्दै पनि त्यसको बचावटमा होइन बिनासकै लागि लालायित बनेका छन् । अहिले नै खाइहालौं भन्ने विपरीत चेतानाबाट ग्रस्त बनेर भोजमा सहभागी भइरहेका छन् । कोही भोजमा निम्ता नपाएको भनेर रुँदैकराउँदै हिडेका छन् । भोलिको बाटो बनाउने सपना नभएपछि कतिपयलाई भोज आजै खानु पर्ने बाध्यता बनेको छ । जुन भोज साधारण चेतना भएकाहरुले खान अस्वीकार गर्नु पर्ने हो । तर नसामा लठ्ठीएपछि दैवी शक्ति उत्पन्न भई सबैथोक म नै हुँ र अरु सब भुसुनातुल्य छन् भन्ने सोच पलाउँदो रहेछ । अन्तिम भोज कथामा भोलि पृथ्वी नष्ट हुँदैछ र सबै मानिसहरुका लागि आजको रात नै अन्तिम हो भन्ने कुरा थाहा पाएपछि कथाकार भोज नखाइ त्यहाँबाट भाग्छन् । पृथ्वी ध्वस्त हुँदा उनको बाँच्ने कुनै सम्भावना थिएन तर पनि उनी अन्तिम प्रयत्न गर्छन् । यहाँ त भएका कमजोरी सच्याएर स्वभाविक भोजको आयोजना गर्ने प्रयत्नमा कोही देखिदैनन् । त्यस्तो प्रयत्न गर्नुको साटो कोशी प्रदेशमा अस्वभाविक अन्तिम भोज चलाइराखिएको छ । जुन धेरैको राजनीतिक भविष्यका लागि अन्तिम भोज हुने सम्भावना अधिक छ ।