विराटनगर । कोशी प्रदेश सरकार गठनको लागि विपक्षी गठनबन्धनले सभामुखसमेतको संख्या जोडेर दावी गर्न लागेको भन्दै त्यसलाई स्वीकार नगर्न नेकपा एमालेले प्रदेश प्रमुखलाई दबाब दिएको छ ।
सभामुख बाबुराम गौतमलाई समेत गणना गरी गठबन्धनले नेपाली काँग्रेस संसदीय दलका नेता उद्धब थापालाई मुख्यमन्त्री बनाउने दावी पेश गर्न लागेको भन्दै एमाले संसदीय दलका नेता तथा कामचलाउ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएका हुन् ।
दलका नेताको तर्फबाट ध्यानाकर्षणपत्र एमालेले बुझाएको भएपनि राप्रपा संसदीय दलका नेता एवं प्रदेश सरकारका मन्त्री भक्तिप्रसाद सिटौलासमेतको उपस्थिति रहेको थियो । सभामुखले दल परित्याग गरी स्वतन्त्र हैसियतमा बसेको अवस्थामा गठबन्धनका तर्फबाट गणना गर्न नमिल्ने एमालेको जिकिर छ ।
आफूले असार १५ गते विश्वासको मत लिँदा ४६ मत प्राप्त गरेको जनाउँदै आज गठबन्धनले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठनको दाबी पेश गर्न लागेकोमा सभामुखलाई गणना नगर्दा बहुमत संख्या पुग्न नसक्ने कार्कीको दावी छ । सभामुखलाई गणना गर्दा संविधान, कानुन, संसदीय मूल्य मान्यता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिद्धान्त एवम् अभ्यास विपरीत हुने भन्दै प्रदेश प्रमुखको ध्यानाकर्षण गरिएको एमालेले जनाएको छ ।
गठबन्धन दलहरुको तर्फबाट अब केहिबेरमा नेपाली कांग्रेसका उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्दैछन् । गठबन्धन दलसँग कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ जना सांसद छन् । सभामुख जोड्दा गठबन्धनको बहुमत पुग्ने भएकोले थापा मुख्यमन्त्री नियुक्त हुने करिब निश्चित छ ।