विराटनगर । काेशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि दलहरूलाई दिएकाे समयसीमा आज सकिँदैछ । प्रदेश प्रमुख खापुङले गत १७ गते संविधानकाे धारा १६७ काे उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनकाे लागि दाबी पेश गर्न आज साँझ ५ बजेसम्मकाे समय दिएका छन् । उनले दिएकाे समयमा मुख्यमन्त्री नियुक्तिका लागि काँग्रेस, माओवादी, नेकपा एस र समाजवादीले दाबी पेश गर्ने तयारी गरेका छन् ।

केन्द्रीय गठबन्धनमा रहेका दलहरूले एमालेकाे साथमा रहेकाे राप्रपालाई पनि सहभागी गराउने अन्तिम कसरत गरिरहेका छन् । नयाँ सरकार गठनकै लागि तीब्र छलफलमा रहेका दलका प्रदेशस्तरिय नेताहरू केहीदिनदेखि काठमाडौंमा रहेका छन् । स्राेतले दिएकाे जानकारी अनुसार अहिले बिहान गठबन्धन दलबीच काेशी प्रदेशकाे सरकार गठनकाे विषयमा आज बिहानै छलफल हुँदैछ । गठबन्धन दलले यसअघि नै मुख्यमन्त्रीमा कांग्रेस नेता उध्दब थापालाई अघि सारिसकेकाे छ । उनैलाई राप्रपालाई सहमतिमा ल्याउने जिम्मा पनि दिईएकाे छ । ६ सिट रहेकाे राप्रपाले सहयाेग नगरे अब बन्ने सरकारकाे भविष्यपनि ३० दिनपछि अन्याैलग्रस्त देखिन्छ ।

अहिलेसम्म राप्रपाले नयाँ सरकार गठनका लागि सहयाेग गर्ने, नगर्नेबारे कुनै निष्कर्ष निकाल्न सकेकाे छैन । गठबन्धन दल काँग्रेसकाे २९, माओवादीकाे सभामुखसहित १३, नेकपा एसकाे ४ र जसपाकाे १ गरि गठबन्धन दलसँग बहुमत दाबी गर्ने सिटसंख्या ४७ रहेकाे छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ नै आवश्यक संख्या हाे । यद्यपि गठबन्धन दलले सभामुखसहित ४७ पुर्याएपनि विश्वासको मत लिँदा उनले बराबरी भएकाे अवस्थामा मात्रै मत दिन पाउनेछन् । त्यस्ताे परिस्थितिमा नयाँ सरकार ढल्न सक्छ ।

एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत १५ गते प्रदेशसभाबाट विश्वासको मत लिन नसकेपछि ढलेकाे हाे । यसअघि उनलाई समर्थन गरेकाे माओवादी र जसपाले समर्थन फिर्ता लिएका थिए । मुख्यमन्त्रीमा कार्की २०७९ पुस २४ संविधानकाे धारा १६८ काे उपधारा (२) अनुसार नै नियुक्त भएका थिए । साेही धारा र उपधारा अनुसार आज सरकारकाे गठनका लागि कसैलेपनि बहुमत दाबी गर्न नसके पुनः ठूलाे दलकाे नेताकाे हैसियतमा उनै कार्की धारा १६८ काे उपधारा (३) अनुसार मुख्यमन्त्री बन्नेछन् ।