किसानको पशुधन जोगाऊ

 सम्पादकीय

चौपाया किसानको मुख्य सम्पत्तिमध्येमा पर्छ । किसानको जिविकाको आधार घरपालुवा चौपाया हुन्, जसको स्याहारचाकरमा लाग्दा किसानले आफ्नै हेरचाहसमेत भुल्दछन् । बिहान सबेरैदेखि राति अबेरसम्मै घाँस, पराल, खोले गर्दै किसानले स्याहारेका तिनै चौपाया पछिल्लो समय लम्पी स्किन रोगले धमाधम मरिरहेका छन् । किसान भने निरुपाय बनेर आफ्नो पशुधनको क्षति कुरेर बसेका छन् । यति धेरै पशु मरिसक्दा पनि राज्यले ठूलो चासो प्रकट नगर्नु, पर्याप्त खोपको प्रबन्ध गर्न नसक्नु, क्षति ब्यहोरेका किसानलाई क्षतिपूर्तिको प्रबन्ध नगर्नु किसानमाथिको अन्याय हो । यही ढंगको क्षति किसानबाहेक अर्को कुनै पहुँचवाला वर्गले व्यहोरेको हुन्थ्यो भने राज्य यसरी नै सुस्त हुन पाउँथ्यो ?

नेपाली किसानलाई मुलुकको अन्नदाता भनेर दस्तावेज र भाषणहरुमा फुक्र्याउने गरिन्छ । यद्यपि ती किसानको सकस दुर गर्ने हरसम्भव उपाय अपनाउन भने सधैं आनाकानी र वेवास्ता हुने गरेको छ । लम्पी स्किनकै प्रकोपका बेला पनि त्यो प्रमाणित भइरहेको छ । किसानले पालेका चौपाया रोग लागेर धमाधम मरिरहेकै बेला कोशी प्रदेशमा खोप अभाव छ । यस्तो बेलामा पर्याप्त खोपको प्रबन्ध गरेर थप क्षति हुन नदिने उपाय खोज्नतिर राज्य लाग्नुपर्ने हो । किसानलाई प्राथमिकताको पहिलो सूचीमा राख्ने भनेपछि व्यवहार पनि सबैको त्यही हुनुपर्छ । किसानका पशु मरिरहँदा हामीसँग खोप छैन भनेर राज्य गैरजिम्मेवार हुन पाउँदैन ।

सरकारी तथ्यांकले नै भन्छ, लम्पी स्किनको प्रकोप कोशी प्रदेशमा उच्च छ । कोशी प्रदेशमा हालसम्म ३ हजार ६ सय १४ वटा पशु लम्पी स्किनबाटै मरेको तथ्यांक प्रदेश सरकारले दिएको छ । पहाडी जिल्ला इलाममा मात्रै १ हजार ७३९ वटा पशु मरेको घटनाले पनि यो रोगको प्रकोप कति भयावह बनेको छ भन्ने देखाउँछ । धेरै किसानका गोठ नै रित्तिएका छन् । प्रदेशभरमा हालसम्म १ लाख ५९ हजार ४२९ वटा पशु यो रोगबाट प्रभावित भएका छन् । प्रदेश सरकारको कृषि मन्त्रालयका अनुसार हालसम्म प्रभावित पशुहरुमध्ये ८० हजार ४२ वटामा खोप अभाव भएको छ । यदि खोपको प्रबन्ध गर्न सके किसानको मुख्य धनमध्येको एक पशुधन जोगाउन सकिन्छ । सरकारको ध्यान यतातिर जानैपर्छ ।

विशेषज्ञहरुका अनुसार लम्पी स्किन रोग मुख्यतः गाईभैँसीलाई हुने सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने पशु चिकित्सकहरु बताउँछन् । यो रोग लागेपछि गाई भैँसीको दूध उत्पादन कम हुने उच्च ज्वरो आउने, तौल घट्ने र केही मर्ने पनि हुन सक्ने उनीहरुको भनाइ छ । गाईभैँसी किसानको आम्दानीका मुख्य स्रोत हुन् । दूधदेखि गोबरमलसम्मको मुख्य स्रोत भएकै कारण किसानले तिनलाई आफ्नो सन्तान सरह माया र रेखदेख गरेका हुन्छन् । यसरी किसानले आफूभन्दा धेरै माया गरेका चौपायाको जीवनरक्षा गर्न लाग्नु सारमा किसानको सुरक्षामा लाग्नु हो । यसर्थ तीन वटै तहका सरकारले यसबारे गम्भीर चासो दिनुपर्छ ।

बिहिबार, २१ असार, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर