अन्तरवार्ता

एमाले र कांग्रेस मिलेर सरकार बनाउन् : राजेन्द्र लिङ्देन

कोशी प्रदेश सरकार निर्माणको लागि प्रदेश प्रमुखले दिएको समयसीमा विहीबार बेलुका ५ बजेसम्मको समय छ । त्यसअवधिमा प्रदेशका कुनै पनि दलले बहुमत जुटाएर दावी प्रस्तुत गर्न पाउँछन् । तर, अहिलेसम्म दलहरुको अवस्था हेर्दा तत्काल कसैको पक्षमा स्पष्ट बहुमतको दावी पुग्ने अवस्था देखिएको छैन । सरकार गठनका लागि केन्द्रीय सत्ता गठबन्धनले कांग्रेस संसदीय दलका नेता उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गर्ने सहमती गरेको छ । तर, गठबन्धनसँग पनि बहुमत छैन । त्यही कारण गठबन्धनले बहुमत पु¥याउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सहमतीमा ल्याउने जिम्मा कांग्रेसले नै पाएको छ । राप्रपाले पनि सरकारमा सहभागी हुने नहुने भन्ने विषयमा निर्णय गर्ने जिम्मा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई दिएको छ । यो बीचमा लिङ्देनसँग कांग्रेस सभापति शेरबहादुर देउवा र मुख्यमन्त्रीका दाबेदार उद्धव थापाले पटकपटक भेट गरेका छन् । यही विषयमा हाम्रोमतका सम्पादक अर्जुन आचार्यले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग कुराकानी गरेका छन् । सो क्रममा कांग्रेससँग भएको अनौपचारिक छलफलमा राप्रपालाई आएको प्रस्ताव, आगामी सरकार गठन, राप्रपाको भूमिक आादि विषयमा अध्यक्ष लिङ्देनसँग गरिएको कुराकानी प्रस्तुत गरिएको छ :

कोशी प्रदेश सरकार निर्माणको विषयमा कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीसँग छलफल गरेको सुनिएको छ । के कस्तो प्रस्ताव आयो ?

– हामीसँग सबै राजनीतिक दलहरुले अनौपचारिक र औपचारिक रुपले कुराकानी गरिराख्नु भएको छ । धेरैजसो अनौपचारिक छलफल नै भएका छन् । औपचारिक भनेपछि अरुले पनि थाहा पाउने गरी भन्ने हो । कुनै पनि कुराले अहिलेसम्म ठोस आकार लिएको छैन । राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिले कोशी प्रदेशको सरकार निर्माणको प्रक्रियामा कांग्रेस र एमाले नै मिलेर सरकार बनाओस् भन्ने चाहना राखेको छ । यसमा हामी नपरे हुन्थ्यो भन्ने सोचेका छौं ।

कांग्रेस एमाले मिल्न सकेनन् भने अर्को विकल्प हुन्छ कि हुँदैन ?

– कांग्रेस एमालेले सरकार बनाएन वा बनाउन सक्ने स्थिति रहेन । उनीहरु मिलेनन् भने त्यस्तो अवस्थामा हामी अन्तिम चरणमा सरसल्लाह र छलफल गरेर धारणा बनाउँछौं । बनाउनै पर्छ । हामी कसैसँग मिलिएन भने मध्यावधिमा जाने वा कसैलाई समर्थन गरेर बाहिर बस्ने अथवा कुनै ठोस उद्देश्यका लागि रणनीतिक रुपमा सरकारको उपयोग गर्ने भन्ने विषयमा छलफल गर्ने चरणमा हामी अहिले आइपुगेका छैनौं । किनभने सरकार निर्माणका विभिन्न चरणहरु प्रारम्भ भएको छ । त्यसमा भर्खरै दुई वा दुईभन्दा बढी दलहरू मिलेर सरकारको दाबी गर्ने चरण चलिरहेको अरुअरु बाँकी चरणहरु छन् । अन्तिमसम्म हेरौं न ।

भनेपछि संविधानको धारा १६८ को उपधारा (३) मा जाऔं भन्ने तपाईंहरुको कुरा हो ?

– मिल्न सकेन भने त्यो त हुन्छ नै होइन र ? त्यो स्वतः आउने हो । त्यसकारण अप्सनहरु धेरै बाँकी छन् । त्योभन्दा अगाडि सत्ताका लागि राप्रपाले धेरै हतार गर्नु हुँदैन भन्ने हो ।

नयाँ सरकार गठनमा दावेदार नेताहरुको तपाईंसँगको सम्बन्धले कस्तो भूमिका खेल्छ ? कांग्रेस नेता उद्धव थापासँग सम्बन्ध सुमधुर नभएकोले राप्रपाले समर्थन गर्दैन भन्ने बजार हल्ला सुनिन्छ, यसमा सत्यता छ ?

– त्यस्तो होइन । ती हावादारी कुराहरु हुन् । व्यक्तिगत सम्बन्धहरु सबैसँग राम्रो हुन्छ । उद्धवजीसँग पनि मेरो यो बीचमा तीन चारपटक भेट भइसकेको छ । यसप्रकारको गलत अनुुमानमा कुनै सत्यता छैन । अहिले इन्द्र आङ्बोभन्दा उद्धब थापासँगै मेरो अलिकबेसी छलफल भइरहेको छ । व्यक्तिगत हिसाबले कोहीसँग बढी नजिक वा टाढा भइयो होला, भइन्छ । तर, यसले यहाँ कुनै प्रभाव राख्दैन । मूलरूपमा राप्रपाले अहिलेको केन्द्रीय गठबन्धनको विपक्षमा आफूलाई राखेको अवस्था छ । यो केन्द्रीय गठबन्धन अन्तर्गतको प्रदेश गठबन्धनलाई सहयोग गर्नु अगाडि किन गर्ने भन्ने कुरा त टुंगो लाग्नुप¥यो नि ! जब हामी गठबन्धनलाई सहयोग गर्ने भन्ने निष्कर्षमा पुग्छौं भने त्यसभन्दा अगाडि त्यहाँ पुग्नुपर्ने कारण सार्वजनिक रुपले भन्नुपर्ला । सहमतिका मोडलहरु बन्लान् । व्यक्ति त हाम्रो च्वाइसको कुरा हुँदैन नि ।

कोशी प्रदेश सरकार गठनको विषयमा कांग्रेस सभापति शेरबहादुर देउवासँग तपाईंको भेटघाट भएको छ । के कुराकानी भयो ?

– उहाँसँग संक्षिप्त कुराकानी भएको हो । उहाँले मिलेर जाऔं भन्ने प्रस्ताव राख्नु भयो । हामीलाई मिलेर जानका लागि कुनै असुविधा छैन । कसरी मिल्ने भन्ने विषयमा व्यापक छलफल गर्नुपर्छ । मोडलहरुमा छलफल गरौं । तपाईंहरुको प्रस्ताव के हो कसरी मिल्न सकिन्छ भन्ने कुरा मैले राखेको छु ।

प्रधानमन्त्री पुष्पकमल दाहालसँग पनि त्यस किसिमको छलफल भएको छ ?

– तत्काल त भएको छैन । केही दिन अगाडि उहाँसँग पनि छलफल भएको हो । उहाँसँग पनि कांग्रेस सभापतिसँग भएकै कुरा भएको हो ।

बिहिबार, २१ असार, २०८०, बिहानको ०८:०२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर