विराटनगर । सम्पत्ति कर र बहाल कर तिर्न पटक पटक गरेको आग्रह बेवास्ता गरेपछि विराटनगर विमानस्थलबाट विराटनगर महानगरले फोहोर संकलन नगर्ने चेतावनी दिएको छ ।  महानगरले कर भुक्तानी नतिरे बुधबारबाट फोहोर संकलन कार्य बन्द गर्ने चेतावनी दिएको हो ।
विमानस्थलले अहिलेसम्म महानगरलाई कुनै पनि कर तिरेको छैन । महानगरले सम्पत्ति कर, बहाल कर तिर्न र निर्माणधीन टर्मिनल भवनको नक्सा पास गर्न आग्रह गरेको थियो ।

विमानस्थल प्रशासनले कर नतिरेपछि फोहोर नउठाउने निर्णय गरेको विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले बताए । ‘हामीले पटक पटक आग्रह गर्दा विमानस्थल प्रशासनले कर तिरेन, नतिरेपछि करको दायरामा ल्याउन असहयोग (फोहोर नउठाउने) गर्ने निर्णयमा पुग्यौं,’ उनले भने, ‘फोहोर व्यवस्थापन गर्नेलाई महानगरले शुल्क तिर्छ, कर नतिरेपछि फोहोर नउठाउने निर्णयमा पुग्यौं ।’ विराटनगर विमानस्थल प्रशासनले टर्मिनल भवन भित्र–बाहिर पसल र होटललाई भाडामा संरचना प्रयोग गर्न दिएको छ । टर्मिनल भवन भित्र विमान कम्पनीका काउन्टर पनि छन् । त्यस बाहेक नोबेल मेडिकल कलेज अगाडिको विमानस्थलको जग्गामा सटर निर्माण गरेर भाडामा पनि लगाएको छ । ती संरचना भाडामा लगाए बापत भएको आम्दानीबाट बहाल कर विमानस्थल प्रशासनले नतिरेको राजस्व महाशाखा प्रमुख सरोज गौतमले जानकारी दिए ।

उनका अनुसार विमानस्थल प्रशासनलाई पटक पटक लिखित आग्रह गर्दा कर तिर्न अटेर गरेको हो । विमानस्थलको निर्माणाधीन नयाँ टर्मिनल भवनको नक्सा पनि पास नगरको उनले बताए । विमानस्थलमा २ अर्ब ४२ करोड लागतमा १६ हजार २७७ वर्गमिटरको टर्मिनल भवन निर्माणधीन छ । ‘हामीले आग्रह गर्दा विमास्थल प्रशासनले टेरेको छैन,’ उनले भने, ‘विमानस्थलको सम्पत्ति मुल्यांकन गरी कर निर्धारण गर्छौं ।’
विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्ष एक अर्ब ६४ लाख रुपैयाँ आन्तरिक आम्दानी हुने अनुमान गरेको थियो । तर चालु आर्थिक वर्ष २०७९–८० को ११ महिनामा (जेठ मसान्त) ५१ करोड ६५ लाख ९४ हजार ९ सय रुपैयाँ मात्रै आम्दानी भएको छ । गत वर्ष महानगरले ४९ करोड ६४ लाख मात्रै आन्तरिक आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्ष कर संकलनका लागि महानगरपालिकाले कर संकलन अभियान सञ्चालन गरेको थियो । कर नतिर्ने ठूला करदातालाई पनि करको दायरामा ल्याएको थियो । कर नतिर्ने व्यक्ति तथा फर्मलाई करको दायरामा ल्याउन बजार क्षेत्रका १० वटा वडामा २० जना स्वयंसेवक परिचालन गरेको थियो । अनलाइनबाट कर संकलनको सुरुवात पनि गरेको थियो ।

महाशाखा प्रमुख गौतमका अनुसार विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयसँगै अन्य सरकारी संस्थान र कार्यालयले पनि महानगरलाई बुझाउनु पर्ने कर बुझाएका छैनन् । कर बुझाउनका लागि महानगरपालिकाले ताकेता गरिरहेको उनले बताए । नेपाल टेलिकमको क्षेत्रीय कार्यालयले राजस्व बुझाएको छैन । जिल्लास्थित कार्यालयले भने नियमित राजस्व बुझाइरहेका छन् । विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले तीन करोड भन्दा बढी कर बुझाउन बाँकी छ । खानेपानी संस्थानले एक करोड, खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ६५ लाख, कृषि सामग्री कम्पनीले ६४ लाख, नेपाल ब्यापार कम्पनीले करिब एक करोड राजस्व बुझाउन बाँकी रहेको महानगरले जनाएको छ । यी संस्थानले स्थापना कालदेखि सम्पत्ति र बहाल कर बुझाएका छैनन् ।