विराटनगर । असार २ गते शनिबार रातिको बाढीमा परी संखुवासभाको सुपर हेंवा हाइड्रोपावरमा काम गर्ने २२ जना मजदुर वेपत्ता भए । उनीहरुको खोजीकार्य अहिले पनि जारी छ । २२ जनामध्ये तीन जनाको शव भेटियो । जसमा दुई जनाको पहिचान भएपनि एउटा शवको अझै पहिचान भएको छैन । वेपत्ता १९ जनाको अवस्था अझै अज्ञात छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारका अनुसार वेपत्ताको खोजीकार्य तीन चरणमा गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तथा स्थानीय जनताको सहभागीतामा पहिलो चरणमा खोजी गरियो । दोस्रो चरणमा वेपत्ताहरु पुरिएको वा बगाएको स्थानमा मेसिन तथा औजारहरुको सहयोगमा खन्ने काम भयो । तेस्रो चरणमा कुकुर लगाएर (रेस्क्यु डगहरु) खोजी भयो । तर, अहिलेसम्म १९ जनाको अवस्था अज्ञात रहेको गोदार बताउँछन् ।
‘२२ जनामध्ये ३ जनाको शव फेला परेको छ । जसमा २ जनाको पहिचान भएको छ भने एउटा शवको पहिचान हुन सकेको छैन,’ गोदार भन्छन्, ‘अझै केही समय त फेला पर्छन् कि भनेर धैर्य गर्नै प¥यो ।’ अहिले पनि २–४ जनाको टोलीले घटनास्थल वरपर खोजी गरिरहेको छ । ‘पहिलेको जस्तो ठूलो टोली गएर खोजी भइरहेको छैन । २–४ जना खोलाको किनारतिर केही पत्तो लाग्छ कि भनेर खोजी गरिरहेका छौं । अझै केही दिन हामी खोजीमै लाग्छौं,’ उनले भने, ‘त्यसपछि के गर्ने भन्ने विपद् व्यवस्थापन समितिले छलफलबाट निर्णय गर्ने र त्यहीअनुसार विपद् व्यवस्थापनको केन्द्रीय कार्यालयमा हामी सिफारिस गर्छौं ।’
गोदारले बाढीले वेपत्ता बनाएका उनीहरु जीवित भेटिने आशा भने कमजोर रहेको बताए । ‘जीवितै भेटिने अवस्था कमजोर छ । हामी निष्कर्षमा पुग्नु भन्दा अगाडि अझै केही समय खोजी गरिरहन्छौं,’ गोदारले भने, ‘अहिले पनि खोलाका किनारतिर केही शवहरू भेटिन्छ कि भनेर हेरिरहेका छौं । त्यो बाहेक अन्य विकल्प छैन ।’
संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले नेपाल सरकारले मृतक सो सरह व्यवहार गर्ने भन्ने निर्णय गरेको अवस्थामा परिवारलाई राहत दिन सकिने अवस्था रहेको बताए । जिल्ला तहबाट केही गर्न नसकिने र खोजी गर्न मात्रै सकिने उनको भनाइ छ ।‘यो भनेको विपद्ले क्षति गरेको हो । यसको सम्बन्धमा भिन्नै निर्णय नेपाल सरकारले नगरेसम्म हामीले खोजी कार्य जारी गर्नुपर्छ । बाढी पहिरोको कारणले गर्दासँगै रहेका केहीको शव भेटिएको र केहीको नभेटिएको, विभिन्न खोजी कार्य गर्दा नभेटिँदा भेट्ने सम्भावना कम छ भनेर स्थानीय तहले पत्र पनि पठाएका छन्,’ कार्कीले भने, ‘यसको सम्बन्धमा के गर्ने भन्ने विषयमा हामीले छलफल गरिरहेका छौं ।’
उनले प्राकृतिक प्रकोपले वेपत्ता भएको अवस्थामा विगतमा भएका निर्णयको आधारमा सरकारले निर्णय गर्ने उनले बताए । ‘भेट्ने सम्भावना कम भएको कारण राहत दिने हकमा मृतक सरह व्यवहार गर्ने कि भन्ने हिसाबले हामीले नेपाल सरकारलाई अनुरोध गर्ने पक्षमा छौं,’ कार्कीले भने, ‘त्यसको उद्देश्य भनेको परिवारलाई राहत दिन सकियोस् भन्ने हो । तर, त्यसका लागि पनि नेपाल सरकारले नै निर्णय गर्नुपर्छ ।’केही दिन अगाडि मात्रै एउटा शव भेटिएको कारण अझै खोजी जारी राख्नुपर्ने अवस्था आएको उनले बताए । ‘३÷४ दिन अगाडि नै एउटा शव भेटिएको कारण अझै केही दिन खोजी गर्नुपर्ने देखिन्छ । देवानी संहिता र फौजदारी संहिताले २ वर्षसम्म नभेटिएको अवस्थामा मृतक मान्ने प्रावधान छ । तर, प्राकृतिक प्रकोपको हकमा नेपाल सरकारले नै निर्णय गर्नुपर्छ । हामीले सिफारिससम्म गर्न सक्छौं,’ उनले भने ।
बाढीले चैनपुर–४ मा निर्माणाधीन सुपर हेंवा हाइड्रोपावरका २२ जना मजदुर वेपत्ता बनाएको थियो । वेपत्ता हुनेमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाइजर सन्तोष ढकाल (सुनसरी), भुवनसिंह तामाङ (चैनपुर नगररपालिका), सुवास राई (संखुवासभा), फैजबहादुर कार्की(झापा), गणेश गिरी (धनकुटा), राजकुमार मगर (इलाम), मीना श्रेष्ठ (झापा), रामजतन थारु (कैलाली), राहुल थारु (बर्दिया), रोहित थारु (बर्दिया), पुलसन थारु (बर्दिया), कालीराम थारु (बर्दिया), राजराम थारु (बर्दिया), सुगत थारु (कैलाली), अमर थारु (कैलाली), सीता थारु (कैलाली) र दीपक मगर (संखुवासभा) छन् ।
त्यस्तै गरी सभापोखरी गाउँपालिका–३ सुनाम्लामा गोठ बगाउँदा ६० वर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई पनि बेपत्ता नै छन् । यस्तै चैनपुर नगरपालिका–१ नुनढाकीमा बर्दिया नगरपालिकाका भीम चौधरी, अप्पर हेवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नगरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू पनि वेपत्ता छन् । चैनपुर नगरपालिका ४ र पाँचखपन नगरपालिका–९ मागएको पहिरोले खोला थुनिएपछि आएको बाढीले बगाउँदा धेरै जनधनको क्षति भएको हो ।

