विराटनगर । कोशी प्रदेशमा हालसम्म लम्पी स्किन रोगबाट ३ हजार ६ सय १४ वटा पशु मरेको मृत्यु भएको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।

जसमा सबैभन्दा बढी इलाम प्रभावित भएको छ । इलाममा मात्रै हालसम्म लम्पी स्किनबाट १ हजार ७३९ वटा पशु मरेका हुन् । जसमा २ वटा भैंसी छन् भने अरु सबै गाई र गोरु रहेको निर्देशनालयले जनाएको छ ।

यस्तै प्रदेशभरमा हालसम्म १ लाख ५९ हजार ४२९ वटा पशु यो रोगबाट प्रभावित भएका छन् । जसमा सबैभन्दा बढी इलामकै रहेका छन् । इलाममा २९ हजार ८८, पाँचथरमा २५ हजार ९००, झापामा २० हजार १४, उदयपुरमा १५ हजार ५ सय, धनकुटामा १५ हजार ४०६ र सुनसरीमा ८ हजार ३५५ वटा पशुमा लम्पी स्किनको संक्रमण देखिएको छ । निर्देशनालयका अनुसार गाई गोरुमा धेरै यो रोग देखिएको छ । हालसम्म १ लाख ५८ हजार ७४ वटा गाई गोरुमा यो रोग देखिँदा १ हजार ३५५ वटा भैंसीमा मात्रै देखिएको छ । निर्देशनालयले असार १४ गतेसम्ममा संकलन गरेको यो विवरणमा हालसम्म प्रभावित पशुहरुमध्ये ८० हजार ४२ वटामा खोप अभाव भएको छ । जसमा सबैभन्दा बढी खोप लगाउनु पर्ने पशुको संख्या झापामा रहेको छ ।

झापामा ३० हजार ४५६, इलाममा २२ हजार ५१८, पाँचथरमा ११ हजार ६५०, ताप्लेजुङमा ४ हजार ५०, खोटाङमा ४ हजार, ओखलढुंगामा ३ हजार ५० वटा पशुमा खोप आवश्यक रहेको बताइएको छ । संखुवासभा, तेह्रथुम, भोजपुर र सुनसरीमा भने खोप लगाउनु पर्ने पशुको संख्या नरहेको निर्देशनालयले जनाएको छ ।

लम्पी स्किन कस्तो रोग हो ?

लम्पी स्किन रोग गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने पशु चिकित्सकहरु बताउँछन् । यो रोग लागेपछि गाई भैँसीको दूध उत्पादन कम हुने उच्च ज्वरो आउने, तौल घट्ने र केही मर्ने पनि हुन सक्ने उनीहरुको दाबी छ ।

यो रोग लागेका गाई भैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् । त्यस्तै सङ्क्रमित गाई भैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ ।