विराटनगर ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विराटनगर महानगरपालिका भित्रका विद्यालयले विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध नगराउने त्यस्ता विद्यालयलाई कारबाहीको माग गरेको छ ।
नेकपा एमाले निकट अनेरास्ववियुले विराटनगर महानगर कमिटीले मेयर नागेश कोइराला र उपमेयर शिल्पा निरौलालाई ध्यानाकर्षण पत्र बुझाउँदै छात्रवृत्ति दिए नदिएको अनुगमन गरी नदिने विद्यालयलाई कारबाहीको दायरामा ल्याउन माग गरेको हो ।
अनेरास्ववियु विराटनगर महानगर कमिटी इन्चार्ज पवित्रा ढकाल र अध्यक्ष कुश थापा सहितको टोलीले मेयर कोइराला र उपमेयर निरौलालाई ध्यानाकर्षण पत्र बुझाउँदै विराटनगरमा सञ्चालित निजी तथा संस्थागत विद्यालयले विद्यार्थीहरूका लागि निर्धारण गरेको छात्रवृत्ति उपलब्ध गराएको या नगराएको निरीक्षण अनुगमन गर्न पनि माग राखेको छ ।
इन्चार्ज ढकालले कानुनी रूपमा नै विद्यालयहरूले छात्रवृत्ति उपलब्ध गराउनु पर्ने कानुनी व्यवस्था रहे पनि विद्यालयहरूले त्यसलाई पूर्ण कार्यान्वयन नगरेकाले निरीक्षण अनुगमन गरी त्यस्ता विद्यालयलाई कारबाहीको दायरामा ल्याउन महानगर समक्ष माग गरिएको बताइन्।ढकालले अहिले पनि महानगर मा सञ्चालित नीति तथा संस्थागत विद्यालयहरूले विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध नगराउने गरेको समेत बताइन् ।
त्यसैगरी अनेरास्ववियु महानगर कमिटीले प्रत्येक शुक्रवार ‘नो बुक डे’ कार्यक्रम हरेक निजी तथा सामुदायिक विद्यालयहरूले र स्थानीय पाठ्यक्रम अनुसारको व्यावसायिक सिप तालिम वा सिप मूलक शिक्षा,विद्यालयमा विद्यार्थीबाट उत्पादन बस्तुको बजारीकरण कार्य जस्तो व्यवहारिक,जीवनोपयोगी कार्यक्रम यथाशीघ्र कार्यान्वयन ल्याउन पनि जोडदार माग गरेको छ ।

