विराटनगर । विराटनगर महानगरपालिका ११ नं. वडा कार्यालय अगाडीको सडक हिलाम्मे हुँदा सर्वसाधारणलाई यात्रा गर्न सास्ती भएको छ ।

वर्षौँदेखि करिब दुई सय मिटर सडक नबनेको कारणले बर्खासुरु भएसँगै सडक हिलाम्मे भएको हो ।

सडक छेउमा रहेको नालाको लेदोसहितको माटो बिच सडकमा हालेको कारणले सडक हिलाम्मे भएको छ । हिलाम्मे सडक भएको कारणले आवत जावतमा सर्वसाधारणलाई सास्ती भएको छ ।

वडा कार्यालय आउने सेवाग्राहीलाई पनि सडक नबनेर हिलाम्मे हुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

‘दुर्गा मन्दिरदेखि पन्चमुखी चोकसम्म सडक अहिले हिलाम्मे रहेको छ । यो सडक दैनिक सयौँको संख्यामा सवारी र सर्वसाधारण आवतजावत हुने गरेको छ । पानी पर्दा पनि मोटरसाइकल समेत चलाउन नमिल्ने हुन्छ’, स्थानीयवासी माया खड्काले भनिन्, ‘वडा कार्यालय अगाडीको सडक नबन्दा सर्वसाधारणले सास्ती पाएका छन् ।’