कोशी प्रदेश सरकारबारे छलफल गर्न शीर्ष बैठक बस्दै

विराटनगर । कोशी प्रदेशको सरकारको नेतृत्वबारे छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक आज अपराह्न बस्दैछ ।

आज दिउँसो चार बजेका लागि बैठक बोलाइएको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफलको एजेन्डा रहेको बताइएको छ । विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले २१ गतेसम्म नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गरेका थिए ।

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुख खापुङको आह्वान छ। ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् ।

केन्द्रीय सत्ता गठबन्धन सम्बद्ध जसपाले पहिचान पक्षधरको आन्दोलनको सम्बोधन हुनुपर्ने माग गर्दै आएको छ । आजको बैठकमा त्यसबारे पनि शीर्ष नेताबीच छलफल हुने बताइएको छ ।

सोमबार, १८ असार, २०८०, दिउँसोको ०२:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर