काठमाडौं । नारायणगढ–मुग्लिन सडक पुनःअवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुलमा सोमवार बिहान पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध बनेको थियो । अहिले सडक दुईतर्फी नै ठप्प भएको ईलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । पहिरोले ना६ख ७१० नम्बरको ट्रक पल्टिएको हो । ट्रकका चालक सामान्य घाइते भएका छन् ।
अहिले पहिरो पन्छाउने र ट्रकलाई उठाउने तयारी भइरहेको प्रहरी निरीक्षक तामाङले जानकारी दिए । उक्त स्थानमा पटक–पटक पहिरो खसेको छ ।
आइतवार झण्डै १८ घण्टा अवरुद्ध भएको यो सडक साँझबाट सञ्चालन भएको थियो । यसको केही समयमा फेरि पहिरो खसेकोमा पहिरो पन्छाएर सडक सञ्चालन गरिएको थियो । यो सडक हुँदै दैनिक हजारौं सवारीसाधन आउजाउ गर्ने गर्दछन् ।
जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक बाहेक यो सडकखण्ड प्रयोग नगर्न अनुरोध गरेको छ ।