धनुषा । धनुषाको सहिदनगर नगरपालिका ८ का निलम्बित वडाध्यक्षलाई नेकपा माओवादी केन्द्रले कारवाहि गरेको छ । वडाध्यक्ष तनुकलाल कुसियैत यादवलाई पार्टीबाट निष्कासन गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी परेपछि निलम्बनमा परेका वडाध्यक्ष यादवलाई माओवादी केन्द्रले पार्टीबाट पनि निकालेको हो।
पार्टीको सहिदनगर नगर कमिटीका अध्यक्ष रहेका कुसियैतले पार्टीको विधानविपरित क्रियाकलाप गरेकाले उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरिएको माओवादी केन्द्रले जनाएको छ।
यादवले पार्टीको नीति सिद्धान्त, मर्यादा र आचरणविपरीत गतिविधि गरेका प्रमाण भेटिएकाले उनलाई पार्टीबाट हटाइएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यही असार १५ गते बसेको नगर कार्यसमितिको बैठकले यादवलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको हो।
अघिल्लो कार्यकालमा पनि वडाध्यक्ष रहेका यादवले २०७४ सालमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनी निलम्बनमा परेका थिए।