पार्टी एकताका लागि ठोस पहल हुँदैछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि ठोस पहल गरिने बताएका छन् । पोखरामा उपलब्ध माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रदेश पदाधिकारीहरूसँग अन्तरक्रिया गर्दै उनले पूर्वमाओवादी शक्तिहरूबीच छलफल भइरहेको भन्दै पार्टी एकताका लागि पहल गरिने बताए ।

उनले भने, हाम्रो पहलमा समाजवादी मोर्चा घोषणा गरिएको छ। आज नै बैठक बसेर त्यसका कार्यक्रम तय गर्छौँ, समाजवादी मोर्चाले समाजवादको आधार निर्माणका लागि काम गर्नेछ। पूर्वमाओवादीहरू पनि छलफलमा छौँ। फेरि पार्टी एकताको आधार निर्माण हुँदैछ । पार्टी एकताको लागि ठोस पहल अगाडि बढाउँछौँ ।

यस्तै, उनले माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुने भन्दै माओवादी शक्तिशाली हुँदा मात्रै देश सही दिशामा अगाडि बढ्ने बताए ।हामीसँग इतिहासको, बलिदानको जनताले राखेको आशा र भरोसाको तागत भएको भन्दै यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्ने पनि उनको भनाई छ ।

उनले भने, माओवादी कमजोर हुँदा सिंगो परिवर्तन कमजोर हुन्छ । हामी शक्तिशाली हुँदा मात्र देश सही दिशामा अगाडि बढ्छ। त्यसैले परिवर्तनका मुद्दा रक्षा गर्ने जिम्मेवारी पनि हाम्रै हो । यसपटक सरकारको नेतृत्व लिँदा परिवर्तन र पार्टी राम्रो बनाउने वातावरणका लागि सोचेको थिएँ । त्यसका लागि नयाँ ढंगले सोच्दैछौँ। हामीसँग इतिहासको तागत छ, त्याग र बलिदानको तागत छ । जनताले हामीमाथि राखेको आशा र भरोसाको तागत पनि छ, त्यसलाई देश निर्माणका पक्षमा लगाउनुपर्छ ।

उनले सामन्तवाद र प्रतिक्रियावादले फोहोरको डङ्गुर थुपारेको भन्दै देश निर्माणका लागि फेरि नयाँ फड्को जरूरी भएको बताए ।

शनिबार, १६ असार, २०८०, दिउँसोको ०२:३० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर