विराटनगर । गण्डकी प्रदेश सरकारको अगुवाइमा आज हुने सातै प्रदेशका मुख्यमन्त्रीको भेलामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नजाने भएका छन् ।
प्रदेशसभामा विश्वासको मत लिने कार्यक्रम रहेको कारण उनी पोखरामा आयोजना हुने उक्त भेलामा नजाने भएका हुन् । मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनालले विश्वासको मत लिएपछि मुख्यमन्त्री पोखरा जानसक्ने बताए ।
भेलाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गर्ने गण्डकी प्रदेश सरकारका प्रवक्ता सरस्वती अर्यालले जानकारी दिइन्।
मुख्यमन्त्रीहरूबीच छलफल एवं अन्तक्र्रिया हुने उनले बताइन्। भेलामा अन्तरप्रदेशबीचको अनुभव आदानप्रदान, प्रदेशले संविधानतः पाउनुपर्ने अधिकारलगायत विषयमा छलफल हुने बताइएको छ।
मुख्यमन्त्रीको भेला दोस्रोपटक हुन लागेको हो। यसअघि २०७५ भदौ २१ र २२ गते गण्डकीकै तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पहलमा पहिलोपटक मुख्यमन्त्रीहरूको भेला भएको थियो। भेलाले आठबुँदे घोषणापत्र पनि जारी गरेको थियो।
यसअघि मुख्यमन्त्रीको भेला गत जेठ १० गते गर्ने तय भए पनि प्रधानमन्त्री प्रचण्डको व्यस्तताका कारण स्थगन गरिएको थियो।