हिंसात्मक तरिका हामीलाई मान्य छैन : योगेश भट्टराईले

विराटनगर । पहिचानवादीको विरोधको निशानामा परेका एमाले सचिव योगेश भट्टराईले एमालेलाई उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका मान्य नभएको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आफ्नो धारणा राख्दै उनले आफूलाई कालो झण्डा देखाउनेहरुको अधिकारका लागि आफू पनि लडेको बताउँदै हिंसात्मक तरिका मान्य नहुने बताएका हुन् ।

‘मदन भण्डारी फाउण्डेसन ईलामले ७२ औ मदन जयन्तीका अवसरमा आयोजना गरेको अन्तरकृया कार्यक्रममा जाँदै गर्दा ईलाम बजारमा केहि व्यक्तिले कालो झण्डा देखाउनु भयो,’ उनले लेखेका छन्, ‘एमाले फरक विचार र मतलाई सम्मान गर्ने पार्टी हो । आज मलाई कालो झण्डा देखाउनेहरुको अधिकारका लागि म स्वंयम र म जस्ता लाखौंले लडेर ल्याएको विरोध गर्ने अधिकारको अभ्यास उहाँहरुले गर्नु भएकोमा लोकतन्त्रको संघर्षमा हामीले बिताएको समयले सार्थकता पाएको अनुभूति भएको छ ।’

तर, विरोधको स्वरुप शान्तिपूर्ण हुनुपर्ने आफूहरुको मान्यता रहेको भट्टराईले उल्लेख गरेका छन् । ‘हाम्रो भनाइ यही छ कि विरोध शान्तिपूर्ण मान्यताभित्र हुनुपर्छ । उत्तेजनात्मक, निषेधकारी र हिंसात्मक तरिका हामीलाई मान्य छैन ।
एमाले र एमालेको नेतृत्वलाई हमला गरेर कोशी प्रदेशको समस्या हल हुँदैन,’ भट्टराईले भनेका छन्, ‘एमाले वार्ता र संवादका लागि हरबखत तयार छ ।
मदन भण्डारी जस्ता युग पुरुषको स्मरणका लागि गरिएको कार्यक्रमलाई विथोल्न खोज्नु स्वंयम उहाँहरूका लागि पनि लज्जाको विषय हो ।’

भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले आक्रमण तथा अवरोधको प्रयास गरेका थिए । प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले भट्टराईलाई इलाममा कालो झण्डाले स्वागत गरेको बताएका छन् ।

भट्टराईलाई आक्रमण गर्ने प्रयास गरेका पहिचानपक्षधर कार्यकर्तालाई सशस्त्र प्रहरीले रोक्ने प्रयास गरेको थियो । यद्यपि भट्टराई चढेको गाडीलाई रोक्दै उनीहरुले पहिचान विरोधी होसियार भन्दै कालोभण्डा प्रदर्शन गरेका थिए । उनीहरुले कार्यक्रम चलिरहँदा पनि कार्यक्रम स्थलमै पुगेर भट्टराईको विरोध गरेको थेगिमले उल्लेख गरेका छन् ।

बिहिबार, १४ असार, २०८०, साँझको ०६:३६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर