अस्पताल नहुँदा मनमोहनलाई स्वास्थ्य तर्फको कक्षा सञ्चालन गर्न सकस

विराटनगर । अस्पताल हस्तान्तरण नहुँदा मनमोहन प्राविधिक विश्वविद्यालयले स्वास्थ्य विज्ञानतर्फको कक्षा सञ्चालनमा ल्याउन सकेको छैन ।
प्राकृतिक चिकित्सा, मेडिकल आर्टिफिसियल ईन्टिेलिजेन्स, ल्याब टेक्निसियन, हस्पिटल म्यानेजमेन्ट र पलिब्क हेल्थलगायतका विषयमा स्नातक तहको पठनपाठनका लागि पाठ्यक्रम र भौतिक संरचना तयार गरिसकेको छ । तर, विश्वविद्यालयका विद्यार्थीहरुले अभ्यास गर्ने गरी कुनै अस्पताल हस्तान्तरण भएको छैन । कक्ष सञ्चालन गर्नु पूर्व अस्पताल निश्चित गर्नुपर्ने भएकोले मनमोहनले पठनपाठन अगाडि बढाउन नसकेको हो ।

कोशी प्रदेश सरकारलाई मातहतमा सञ्चालनमा रहेका अस्पताल र प्रयोगशाला हस्तान्तरण गरिदिन पटक पटकआग्रह गरे पनि अझैसम्म हस्तान्तरण नभएकोले पाठयक्रम र भौतिक संरचना तयार भएपनि स्वास्थ्य विज्ञानतर्फका धेरै विषयको पठनपाठन हुन नसकेको उपकुलपति डा. सुवासश्री पोखरेलले बताए । उनकाअनुसार मनमोहनले झापाको भद्रपुरमा रहेको मेची वा विराटनगरमा रहेको कोशी कोभिड अस्पताल हस्तान्तरण गर्न आग्रह गर्दै आएको थियो । तर यसबारे प्रदेश सकारले खासै चासो दिएको छैन ।

अस्पताल प्राप्त भएमा चाँडै परामेडिकल तर्फका विभिन्न विषयका कक्षाहरु सञ्चालन गरेर अस्पताल र प्रयोगशालाहरुलाई चाहिने दक्ष जनशक्ति उत्पादन गरेर सेवाको गुणस्तर वृद्धि गराउन र रोजगार बढाउन सकिने उपकुलपति पोखरेलले बताए । उनले भने, ‘अस्पताल हस्तान्तरणमा जति ढिलाइ हुन्छ उति नै स्वास्थ्य सेवा क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा ढिलाइ हुने भएकोल सरकारले चासो दिनुपर्छ ।’

हाल सञ्चालनमा रहेका सरकारी र नीजि अस्पताल र क्लिनिकहरुमा आधुनिक प्रविधिसँग जानकार भएका प्राविधिक र व्यवस्थापकहरु एकदमै थोरै छन् । जसले गर्दा अस्पतालहरुको सञ्चालन, व्यवस्थापन, डाटा प्रणाली र प्रयोगशालाहरु आधुनिकगुणस्तरिय ढंगले सञ्चालन हुन नसकेका हुन् ।

अस्पतालहरुमा उपकरणहरु मर्मत गर्ने आफ्नै जनशक्तिहरु समेत नभएको परिवेशमा प्राविधिक विश्वविद्यालयको स्वास्थ्य सम्बन्धी पठनपाठनलाई अगाडि बढाउन आवश्यक रहेको सरोकारवालाहरुले बताएका छन् ।

बिहिबार, १४ असार, २०८०, बिहानको ०८:३३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर