विराटनगर । जन्मसिद्ध नागरिकता प्राप्त गरेका नेपाली नागरिकका सन्तानले नागरिकता पाउने कानुन बनेपछि जिल्ला प्रशासन कार्यालय मोरङबाट बुधबार अपरान्हसम्म ४६४ जनाले नागरिकता लिएका छन् ।

नागरिकता लिन दैनिक एक हजारको संख्यामा लाइनमा बस्ने भएकोले जिल्ला प्रशासन कार्यालय मोरङले टोकन प्रणाली अवलम्बन गरेर नागरिकता वितरणलाई व्यवस्थित बनाउने प्रयास गरेको छ ।

नागरिकता सम्बन्धी नयाँ कानुनी व्यवस्था भएपछि पहिलो पटक सोमबार जिल्ला प्रशासन कार्यालय मोरङ र मातहतका दुई इलाका प्रशासन कार्यालयहरुबाट नागरिकता वितरण कार्य सुरु भएका हुन् । सोमबार र मंगलबार एक दिनमा ४० जनालाई नागरिकता वितरण गर्ने गरी कार्यालयले टोकन वितरण गरेको थियो । बुधबारबाट भने एक दिनमा ९० जनालाई नागरिकता दिने गरी टोकन वितरण गर्न थालेको जिल्ला प्रशासन कार्यालय मोरङका सूचना अधिकृत प्रदिप साहले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय मोरङले बुधबारसम्म एक हजार पाँच सय जना भन्दा बढी व्यक्तिलाई नागरिकता बनाउनका लागि मिति तोकेर टोकन वितरण गरिसकेको छ । सूचना अधिकृत साहले भने ‘बुधबारसम्म साउन २६ गतेसम्मका लागि टोकन बाँडिसकेका छौं, बाहिरको लाइन हेर्दा बेलुकीसम्म साउन मसान्तसम्मकै लागि टोकन दिनु पर्ने अवस्था देखिन्छ ।’

सोमबार जिल्ला प्रशासन कार्यालय मोरङबाट १०५ जना जन्मसिद्धका सन्तानहरुले वंशजको नागरिकता प्राप्त गरेका थिए । इलाका प्रशासन कार्यालयहरुसमेत गरी मंगलबार १९५ जनाले नागरिकता बनाएका थिए । भने बुधबार १४१ जनाले नागरिकता प्राप्त गरेका छन् । सोमबार र मंगलबार मोरङमा १२८ जनालाई नागरिकता वितरण गरिएको थियो । बुधबार अपरान्हसम्म जिल्लाका तीनवटै कार्यालयहरुबाट ४६४ जनालाई नागरिकता वितरण गरिएको कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले नागरिकता वितरण क्षमता बढाउँदै सहज वातावरण तयार गरिरहेको जनाएको छ । त्यसका लागि बुधबार मात्र मोरङ कारागारमा कार्यरत अधिकृतलाई काजमा सरुवा गरी नागरिकता फाँटको जिम्मेवारी तोकेको छ । थप अधिकृतहरु झिकाएर दैनिक बढी भन्दा बढी नागरिकता वितरण गर्ने वातावरण बनाउने तर्फ कार्यालय प्रयासरत रहेको अधिकृत साहले जानकारी दिए ।

नागरिकता माग गर्नेहरुले वडाबाटै कागजपत्र रुजु गरेर सिफारिस लिएर आउने भएकोले नागरिकता वितरणमा कागजपत्र नपुग्ने खासै समस्या देखिएको छैन । जिल्ला प्रशासन कार्यालयले सबै वडाहरुलाई नागरिकता सिफारिस गर्दा आवश्यक पर्ने कागजातको विषयमा प्रष्ट निर्देशन दिएकोले कागजपत्र नपुग्नेहरुको सिफारिस नहुने भएकोले टोकनका लागि लाइनमा बसकेकाहरुले सहज रुपमा नागरिकताका लागि टोकन पाइरहेको सूचना अधिकृत साहले जानकारी दिए ।

एक पटक लाइनमा बसेर भित्र प्रवेश गरिसकेकाहरुको कुनै कागजपत्र थप हेर्नु वा बुझ्नु परेमा भोलिपल्ट लाइनमा बस्न नपर्ने गरी गेटपासको व्यवस्था मिलाएकोले दोहोरो लाइन बस्न नपर्ने उनले बताए । बुधबार दिनभर लाइनमा बसेपनि कागजपत्र रुजु गराउन नपाएकाहरुलाई गेटपास दिइएको र उनीहरुलाई अर्को दिन आउँदा फेरि लाइन बस्न नपर्ने गरी व्यवस्थापन मिलाइएको कार्यालयले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले कागजपत्र रुजु गरेर टोकन वितरण गर्ने गरेको छ । यसो हुँदा पालोमा नागरिकता बनाउन आउँदा कागजपत्र नपुग्ने झण्झट नहुने कार्यालयको बुझाइ छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले झण्डै ८० हजार जन्मसिद्धका सन्तानहरुले नागरिकता माग गर्ने अनुमान गरेर सोही अनुसार तयारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले ८० हजार जनाजतिले नागरिकता लिनसक्ने अनुमान गरेको बताए । इलाका प्रशासन कार्यालय रंगेली र उर्लाबारी पनि यस प्रकृतिको नागरिकता वितरण कार्यलाई जारी राखेका छन् ।