विराटनगर । विराटनगरको सीमावर्ती भारतीय बजार जोगबनीमा व्यापारीले भारु नोटमा कारोबार गर्न अस्वीकार गर्न थालेका छन् । त्यहाँका पसलेहरू नेपालका ग्राहकले दिएको भारु पैसा लिन मानिरहेका छैनन् ।

उनीहरू भन्छन्, ‘हामीलाई नेरु नै दिनुस्, भारु हैन । हामी भारु लिदैनौँ ।’ अवैध मौद्रिक बजार र सुनतस्करीको वृद्धि सँगसँगै खुला बजारमा नेरु महँगो र भारुको दर सस्तो भएको छ । भारतमा प्रतिदिन नेरुको माग बढिरहेको छ । त्यसैले जोगबनीका व्यवसायीले पनि नेरु नै माग्न थालेका हुन् । सीमावर्ती बजारमा भारुको दर सस्तो हुन थालेको ८ महिना भएको छ । भारुको दर सीमापारिको बजारमा २०७९ मंसिरमा सबैभन्दा पहिले १५६ रुपैयाँ भएको थियो। त्यसको दुई महिना नपुग्दै माघको १५ मा १५० रुपैयाँमा झ¥यो । त्यसपछि कहिले १५२, कहिले १५५, १५६ हुँदै एक महिनायता १५० मा स्थिर भएको छ ।

जोगबनीको हरियाणा फेन्सी स्टोरका सञ्चालक नरेन्द्र गोयलले आफ्नो पसलले भारुका कारोबारीसँग नेरु १५० का दरले भारुको खरिद गरिरहेको बताए । ‘कपडाको आपूर्ति गर्ने भारतका कम्पनीलाई हामीले भारुमै भुक्तानी दिनुपर्छ । त्यसैले नेपालका ग्राहकलाई सामान बिक्री गरेर उनीहरूबाट प्राप्त नेरुलाई भारु बनाउनै पर्छ,’ उनी भन्छन्, ‘कुनै समय हामीले १ सय भारु खरिद गर्न नेरु १६६ सम्म दिनुपरेको थियो । अहिले भने १५० मै पाइरहेका छौं। त्यसैले हामी नेपालका ग्राहकले भारु हैन नेरु नै दिऊन् भन्ने चाहन्छौं ।’

नेपालका सीमावर्ती भारतीय बजारमध्ये जोगबनी मात्र एक यस्तो बजार हो, जहाँ सधैं नेरुमै कारोबार हुँदै आएको छ । जबकि वीरगंजको सीमावर्ती भारतीय बजार रक्सौल, भैरहवाको सुनौली, नेपालगञ्जको रुपैडिया, काँकडभिट्टाको पानीटंकी वा बागडोगरा कतै पनि नेरु चल्दैन । त्यस्तै जोगबनीको कलकत्ता क्लोथ स्टोरका सञ्चालक कमल तापडिया ‘सिकन्दर’ले पनि खुला बजारमा भारुको दर घटेर १५० मा स्थिर भएको जानकारी दिए । यता नेपालतर्फका सीमावर्ती बजारमा पनि व्यवसायीले भारु लिन छाडेका छन् ।

पेट्रोल पम्पहरूले सूचना नै टाँसेर भारु नलिने जनाएका छन् । ‘भारुमा भुक्तानी लिएर हामी कहाँ साट्न जाने ?,’ पेट्रोलियम व्यवसायी एवम् श्री तिरुपति ट्रेडिङका सञ्चालक आनन्द मारूले भने, ‘बजारमा कतै भारु बिक्दैन । बिकिहाले पनि १५० का दरले खरिद गर्छु भन्छन्। अनि जानीजानी घाटाको व्यापार किन गर्नु ? त्यसैले भारु नै नलियो, टन्टै साफ ।’

व्यवसायी र ठुला कारोबारीले नेरु १५० मा भारु १ सयको खरिद गरिरहेका भए पनि सर्वसाधारणलाई भने १६० नै परिरहेको छ । किनकि मुद्राका अवैध कारोबारीहरू सर्वसाधारणसमक्ष आइपुग्दैनन् । उनीहरू व्यवसायीसित मात्र जान्छन् । पूर्वका सटही काउन्टरहरूको व्यवसाय अहिले ठप्पजस्तै भएको छ । ‘विराटनगरमा मात्र १८ वटा सटही काउन्टर छन्,’ स्वस्तिका सटही काउन्टरका सञ्चालक रवीन्द्र निरौलाले भने, ‘तर हामीसित भारु लिन कोही आउँदैन। बरु भारु लिनुस्, नेरु दिनुस् भन्दै आउँछन् ।’

खुला बजारमा भारतीय मुद्राको मूल्य घटेसँगै नेपालका अस्पताल र होटलहरू मारमा परेका छन् । विराटनगरस्थित न्यूरो अस्पतालका प्रबन्ध निर्देशक अनिशा विष्टले आफ्नो अस्पतालमा भारु १ सयलाई नेरु १५७ को दर तोकिएको जानकारी दिइन् ।

खुला बजारमा भारु सस्तो भएको असर प्लाइउड उद्योगीले ब्यहोर्नु परिरहेको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले चालु आर्थिक वर्षको बजेट निर्माण गर्दा प्लाइउडको निर्यातमा ४ देखि ८ प्रतिशतले नगद अनुदान दिने नीति बनाएका थिए । पूर्व मन्त्री शर्माको यही नीतिका कारण गत साउनदेखि नेपालका उद्योगीले भारततर्फ प्लाइउडको निर्यातलाई आक्रामक रूपमा विस्तार गरेका छन् ।

उत्पादनको निर्यात गरे पनि नेपालका प्लाइउड उद्योगी मारमा पर्नुको कारण भने भारुको घटेको मूल्य नै हो । भारत सरकारले प्लाइउडमा जीएसटीको दर १८ प्रतिशत तोकेको छ । यही महँगो जीएसटीको रकम छल्न भारतका आयातकर्ताहरू नेपालका उद्योगीसँग ५० देखि ६० प्रतिशत न्यून विजकीकरणमा प्लाइउडको एलसी खोल्छन् र बाँकी रकम हुन्डीबाट पठाउँछन् । नेपालका प्लाइउड निर्यातकर्ताले हुन्डीबाट पाउने रकम भारतीय मुद्रामै हुन्छ, जुन मुद्रा अहिले सस्तोमा बिक्री भइरहेको छ । यसरी भारुको मूल्यले प्लाइउडका निर्यातकर्ता संकटमा परेका छन् ।

जानकारका अनुसार नेपालमा वैदेशिक रोजगारमा गएका नेपालीले वैधानिक बाटो छाडेर हुन्डीबाट रेमिट्यान्स पठाउनु नै भारु सस्तो हुने मुख्य कारण हो । वैदेशिक रोजगारमा गएका नेपालीले त्यहाँका मुलुकमा पाएको आफ्नो पारिश्रमिक त्यहीँका हुन्डी कारोबारीलाई दिन्छन् । अहिले नेपालमा १ अमेरिकी डलरको मूल्य १३२ का हाराहारीमा छ । तर हुन्डी कारोबारीले नेपालका वैदेशिक रोजगारका घरमा १३५ का हिसाबले पारिश्रमिकको रकम घरमै उपलब्ध गराइदिन्छन् । यसरी अवैध मार्गबाट बढी रकम घरमा पुग्ने भएपछि वैदेशिक रोजगारमा गएका युवायुवतीले यही बाटो अपनाएका छन् ।

उता अवैध हुन्डीका कारोबारीले वैदेशिक रोजगारमा गएका युवायुवतीले पाएको पारिश्रमिक संकलन गरेर त्यसलाई अमेरिकी डलरमा परिवर्तन गर्दछन् र त्यो अमेरिकी मुद्रा भारत पठाउँछन् । भारतीय व्यवसायीलाई २ वटा कामका लागि ठूलो परिमाणमा अनौपचारिक तवरबाट आर्जित डलरको आवश्यकता छ । पन्यून विजकीकरणमा आएका मालवस्तुको भुक्तानी गर्न उनीहरुलाई डलर जरुरी हुने गरेको हो ।