सामुदायिक वनमा मिलेमतोमा घोटाला

विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ भाउनेमा रहेको सिर्जना सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष छत्रबहादुर लिम्बूले मिलेमतोमा लाखौं रुपैयाँ घोटाला गरेको पाइएको छ । अध्यक्ष लिम्बूले सामुदायिक वनको १७ लाख ५५ हजार रुपैयाँ बराबरको ९५५ क्यूविक फिट काठ अन्यमितता गरेको पाइएको हो ।

डिभिजन वन कार्यालय मोरङले बनाएको छानविन समितिको प्रतिवेदनअनुसार सामुदायिक वनभित्रको घाटगद्दीमा रहेको साल र अन्य विभिन्न प्रजातिको काठ अध्यक्ष लिम्बूले आफुखुसी बिक्री गरी सामुदायिक वनको साढें १७ लाख भन्दा बढी रकम अनियमितता गरेको पाइएको हो ।अनियमितता आरोप लागेको लिम्बू नेपाली कांग्रेस बेलबारीका नगर सभापति पनि हुन् । उनी विगत चार वर्षदेखि सामुदायिक वनको अध्यक्षको जिम्मेवारीमा थिए । २०७९ साउनमा अध्यक्ष लिम्बूले वनको घाटगद्दीमा रहेको काठ आफुखुसी उपभोक्ताहरुलाई बिक्री गरेको फर्जी बिल बनाएका थिए । उनले काठ भने उपभोक्तालाई नभई अरुनै व्यापारीलाई बिक्री गरेका थिए ।

लिम्बूले विभिन्न उपभोक्ता तथा केही संस्थालाई किर्ते कागजात बनाइ काठ बिक्री गरेको रसिद फेला परेको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत विष्णुलाल घिमिरेले बताए । ‘सामुदायिक वनको घाटगद्दीमा रहेको काठ अन्यन्त्र बिक्री गरेपछि अध्यक्ष लिम्बूले उपभोक्तालाई बिक्री गरेको देखाउन फर्जी रसिद दिएको पाइएको छ,’ डिभिजन वन अधिकृत घिमिरले भने, ‘रसिद काटेको उपभोक्ता खोजी गर्दै जाँदा उनीहरुले काठ नलिएको पाइयो ।’ अहिलेसम्म लिम्बूले काठ कसलाई र कहाँ बिक्री गरे भन्ने पत्ता भने लागिसकेको छैन । ‘छानविन सकिएपछि अहिले प्रतिवेदनका आधारमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘थप अनुसन्धानपछि अध्यक्ष लिम्बूले काठ बिक्री गरेको ठाउँ र व्यक्तिको विवरण प्राप्त हुनेछ ।’ लिम्बूले प्रतिक्युविक फिट २ हजार देखि ३ हजार रुपैयाँसम्मका दरले काठ बिक्री गरेको बुझिएको छ ।
अध्यक्ष लिम्बूले अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित कार्यालयमा पनि उजुरी परेको थियो । अख्तियारले डिभिजन बन कार्यालय मोरङलाई छानबिनका लागि पत्राचार गरेको थियो । त्यसपछि डिभिजन बन कार्यालयले सब डिभिजन कानेपोखरीका वन अधिकृत अलाउद्दीन मियाँको नेतृत्वको समितिले छानविन गरेको थियो । छानविनका क्रममा अध्यक्ष लिम्बूले कार्यसमितिको म्याद सकिएपछि वनको काठ बिक्री गरेको प्रतिवेदनमै उल्लेख गरेको छ ।

तीन वर्षको कार्यकाल भएपनि लिम्बूले चार वर्षपछि मात्र साधारणसभा गराएका थिए । ४ वर्षमा ९८७ क्यूविक फिट काठ बिक्री भएको देखिएको वन अधिकृत अलाउद्दीनले बताए । उनका अनुसार सखुवा (साल) ४२७ क्युफिट, ३ सय क्युटिफुट बोट धँयरो र अन्य प्रजातिको २६० क्युविक फिट काठ बिक्री गरेका थिए ।

‘गलत मनासयले काठ बिक्री गरेको र सामुदायिक वनको आर्थिक अन्ययमितता गरेको देखिन्छ । कार्यसमितिमा निर्णय नगराई काठ मनोमानी ढङ्गले बेचेको देखिन्छ,’ अधिकृत अलाउद्दीनले भने ।

अध्यक्ष लिम्बू विरुद्ध मुद्दा दर्ताको तयारी

छानविन प्रतिवेदन डिभिजन वन कार्यालय मोरङमा बुझाएपछि कार्यालयले अनुसन्धान अधिकृत तोकेको छ । डिभिजन वन कार्यालयले सब डिभिजन वन कार्यालय बेलबारीका वन अधिकृत दिपेश मिश्रालाई अनुसन्धान अधिकृतको जिम्मेवारी दिइएको हो ।

अनुसन्धानपछि मोरङ अदालतमा अभियोग लैजाने तयारीमा डिभिजन वन कार्यालय रहेको छ । ‘जिल्ला सरकारी वकिलको कार्यालयसँग राय लिने काम पनि भइरहेको छ,’ डिभिजन वन कार्यालय मोरङका डिभिजन वन अधिकृत घिमिरले भने, ‘अनुसन्धानपछि अभियोजन बनाएर सरकारी वकिलको कार्यालयमार्फत अदालतमा अभियोग लैजानेछौं ।’ अनियमितताको आरोप लागेको लिम्बूलाई डिभिजन वन कार्यालयले हाजिर जमनीमा राखेको छ । उनलाई वन पैदावर अनियमितता गरेको कसुरमा अदालतमा मुद्दा चलाउने तयारी गरिएको हो ।

बुधबार, १३ असार, २०८०, बिहानको ०८:५८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर