नागरिकता लिनेको अत्याधिक चाप छ, स्रोत, साधन र मेनपावरको कमी भयो : प्रजिअ यादव

जन्मसिद्धका सन्तानले बाबु वा आमाको नागरिकताबाट नागरिकता पाउँछन् कि पाउँदैनन् ?

– संविधानको धारा ११ को उपधारा ३ अनुसार अहिले दिन नमिल्ने देखियो । ऐनमा पनि बाबु वा आमा भनेको भए मिल्थ्यो होला । त्यहाँ ‘र’ रहेको कारण दिन मिल्ने देखिएन । उनीहरुको समस्या कसरी समाधान गर्ने भन्ने विषय मैले भन्न सक्ने विषय होइन ।

कार्यविधिले थप व्याख्या गर्न सक्छ कि ऐन र संविधानको धारा नै परिवर्तन गर्नुपर्छ ?

– यो विषयमा मलाई थाहा भएन । संविधान र कानूनले भनेको कुरा गर्ने हो । ऐनमै स्पष्ट आएको कुरालाई हामीले कार्यान्वयन गर्ने हो ।

बुबाको मृत्यु भएको वा वेपत्ता भएको भए पनि उनीहरुका सन्तानले नागरिकता पाउँदैनन् ?

– अहिलेको लागि नागरिकता पाउनका लागि बुबा र आमा दुवै जनाको नागरिकता हुनुपर्छ । बुबा नभएमा भनेको बुबाको पहिचान नभएमा भनेको हो । पहिचान भएकाको हकमा उनले नागरिकता नपाउने देखिन्छ ।

नागरिकता वितरणमा निक्कै भीड देखियो । यो कसरी व्यवस्थापन गरिरहनु भएको छ ?

– यसलाई कसरी व्यवस्थापन गर्ने भनेर हामीले पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसँग बसेर छलफल गरेका थियौं । मेनपावर, स्रोत, साधनबाट अहिले जति सकेका छौं, त्यति टोकन प्रणालीबाट नागरिकता वितरण गरिरहेका छौं । यसरी वितरण गर्दा समय धेरै लाग्ने देखिएको छ । अहिलेको मेनपावरले यसअघि नै काम भ्याउन सकिरहेको थिएन । अब थप कामको लोड बढेको कारण हामीले गृहमन्त्रालयलाई जानकारी दिएका छौं । स्रोत, साधन र मेनपावर थप भए हामी छिटो नागरिकता वितरण गर्न सक्ने थियौं ।

मोरङमा अहिलेसम्म जन्मका आधारमा नागरिकता पाएकाको सन्तानमध्ये कतिले नागरिकता पाए ?

– हिजोसम्म मोरङ जिल्लाभरबाट १२८ जनाले नागरिकता पाएका छन् ।

दिनभरमा कति नागरिकता वितरण गर्ने भन्ने कुनै मापदण्ड छ ?

– छैन । जति धेरै दिन सक्छौं प्रयास गर्ने भनेका छौं । नर्मल नागरिकताको प्रतिलिपी पनि रोक्ने कुरा भएन । अहिले थप भएपछि हामीले छुट्टै तीन जना जनशक्ति छुट्याएर छुट्टै शाखा बनाएर काम गरिरहेका छौं ।

लामो लाइनको अन्त्य कहिले होला ?

– हामीले सिफारिस भएर आउने मानिसहरु फर्किएर नजाउन् । दोहोरो ढंगले कागज पुर्याउने झण्झट नहोस् भनेर सचेत गराएका छौं । त्यस्तै टोकन पाइसकेकाहरुले फर्किन नपर्ने गरी कागजात पूरा गरेर आउन् भनेर काम गरिरहेका छौं । यद्यपि धेरै संख्यामा सर्वसाधरण भएका कारण केही समस्या पर्ने देखिन्छ ।

मोरङमा यस प्रकृतिको नागरिकता पाउन योग्य कति होलान् ?

– करिब ८० हजार होलान् ।

पालिकाहरुलाई कोटा छुट्याएर सिफारिस गर्ने वा पालिकाको आधारमा बार छुट्याएर नागरिकता वितरण गर्ने विकल्प पनि थियो नि ?
– हामीले पालिकाका जनप्रतिनिधिहरुसँग छलफल पनि गरेका छौं । त्यसरी पालिकालाई नै बार छुट्याउँदा विराटनगर महानगरमा धेरै मानिस छन् । त्यसकारण अहिले केही गरिएन । त्यसकारण एक दुई दिन हेरौं स्थिति के हुन्छ भन्नेमा छौं ।

बिहानदेखि बेलुकासम्मको सिफ्टमा चलाउने हो कि ?

– त्यो गर्न त सकिन्छ । तर, त्यसका लागि ओभरटाइम खाजा, नास्ताको व्यवस्थापन कसरी गर्ने ? स्रोतको व्यवस्थापन छैन । काँही मिलेछ भने गर्ने नै हो । हामीले यस विषयमा गृह मन्त्रालयलाई जानकारी पनि दिइसकेका छौं ।

स्थानीय सरकार तथा प्रदेश सरकारले केही सहयोग गर्न सक्दैनन् ?

– स्थानीय सरकारसँग छलफल भइरहेको छ । अब प्रदेश सरकारसँग पनि केही स्रोतको व्यवस्थापनको लागि पहल गर्ने तयारी गरेको छु ।

बुधबार, १३ असार, २०८०, बिहानको ०८:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर