विराटनगर । विराटनगरका सागर विश्वास नागरिकता पीडित संघर्ष समितिका अभियान्ता हुन् । तर, उनी नागरिकताबाट फेरि पनि वञ्चित हुने देखिएको छ । किनकी उनीसँग आमाको नागरिकता छ तर, बुबाको छैन ।
पहिचान भएर पनि बुबाको नागरिकता नपाउँदा उनलाई दुःख लागेको छ । जिल्ला प्रशासन कार्यालय मोरङ विराटनगर परिसरमा भेटिएका उनले दुःखेसो गरे, ‘नागरिकता पाउनकै लागि विराटनगरदेखि काठमाडौंसम्म विभिन्न आन्दोलनमा सहभागी भएँ, लाठी खाइयो, गाली खाइयो । त्यही कारण सबैले नागरिकता पाउँदैछन् सबै खुसी देख्छु । तर, मैले नै नागरिकता नपाउने अवस्था बन्यो ।’
विराटनगरस्थित जिल्ला प्रशासन कार्यालयमा नागरिकता लिने जन्मसिद्धका सन्तानहरुको लामो लाइन छ । दुःखमा परेका पीडामा परेका र कागजात नपुगेकाहरुलाई उनले सहयोग पनि गरिरहेकै छन् । तर, आफैं नागरिकताबाट बञ्चित हुनुपर्दा उनले मन अमिलो बनाएका छन् ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले आफूलाई धेरैले यो विषयमा सोधिरहेको बताए । ‘संविधानको धारा ११ को उपधारा ३ अनुसार अहिले दिन नमिल्ने देखियो । ऐनमा पनि बाबु वा आमा भनेको भए मिल्थ्यो होला । त्यहाँ ‘र’ रहेको कारण दिन मिल्ने देखिएन । उनीहरुको समस्या कसरी समाधान गर्ने भन्ने विषय अदालतमार्फत व्याख्या आवश्यक छ,’ यादवले भने ।
नेपालको संविधान २०७२ को धारा ११ को उपधारा (३) मा जन्मका आधारमा नागरिकता पाएकाहरुका सन्तानले नागरिकता पाउने विषय उल्लेख छ । ‘यो संविधान प्रारम्भ हुनुभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निज बालिग भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ,’ संविधानको उक्त उपधारामा उल्लेख छ ।
यस्तै नेपाल नागरिकता (पहिलो संशोधन) ऐन, २०७९ को दफा २ को उपदफा (२) मा पनि संविधानमा रहेकै प्रावधान राखिएको छ । ‘२०७२ साल असोज ३ गतेभन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहनेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ,’ उक्त ऐनमा उल्लेख छ । यही प्रावधानले जन्मको आधारमा नागरिकता पाएका तर दुवै दम्पत्तीको नभएको अवस्थामा उनीहरुको सन्तानले तत्काल नागरिकता नपाउने भएका हुन् ।

