विराटनगर । मोरङको ग्रामथान गाउँपालिका ५ की कलावती शर्मा बिहान ९ बजे नै नागरीकता लिनका लागि जिल्ला प्रशासन कार्यालय मोरङमा पुगिन् । ७ महिनाको छोरो बोकेर लाइनमा पुग्दा उनी झण्डै ४०० जना पछाडि थिइन् । उनीभन्दा अगाडिनै धेरै जना लाइनमा बसिसकेका थिए । ‘अहिले ६०० भन्दा बढी पुगिसकेका छन्, म आउँदा अगाडि नै ४०० जति भइसकेका थिए,’ उनले भनिन् ।
कलावती २६ वर्ष कि भइन् । कलावती कि सासू रमादेवी ७० वर्षकी छन् । रमादेवीले पनि अहिलेसम्म नागरीकता लिएकी छैनन् । मंगलबार नागरिकता लिन सासुबुहारी नै लाइनमा बसेका थिए । असारको घाममा ७ महिनाको बच्चा बोकेर नागरिकता लिन उनीहरु काखे नानी बोकेर लाइनमा बस्दा घरिघरी पसिना पुछिरहन्थे तर लाइन खासै सर्दैनथ्यो ।
‘नाति लिएर सासू बुहारी नै घरको काम छोडेर आयौं,’ रमादेवीले भनिन् ‘नाति रोइरहन्छ एक जनाले यसलाई हेर्न ठिक्क हुन्छ, यहाँ लाइन छोड्यो कि पछाडि परिने पिर छ ।’ उनले बृद्ध भत्ताका लागि नागरिकता बनाउन आएको बताइन् ।
विराटनगर १७ की दुई खातुन पनि दूधे बच्चा बोकेर बिहान ८ बजेदेखि लाइनमा बसिन् । ३६ वर्षकी खातुनले छोरा हेर्न बुबा जिलाउद्धिन अन्सारीलाई साथमै लिएर आएकी थिइन् । बुबा जिलाउद्धिन छोरीको कागजपत्र बोकेर लाइनमा बस्छन् भने दुई नानी लिएर बुबाकै आसपासमा उभिरहेकी हुन्छिन् ।
कलावती र दुई जस्ता थुप्रै जना बिहान २ बजेदेखि नै जिल्ला प्रशासन कार्यालय मोरङ अगाडि भेला भएर लाइन बसेका थिए । ‘बिहान ४ बजेतिर सय जना भन्दा बढी भेला भइसकेका थिए,’ जिल्ला प्रशासन कार्यालयका कार्यालय सहयोगी केशव भण्डारीले भने ‘कति बजेदेखि आएका हुन् भनेर बुझ्दा २ बजेदेखि नै मानिसहरु लाइन बस्न थालेका रहेछन् ।’
सर्वाेच्च अदालतले जन्मसिद्धका सन्तानलाई वंशजको नागरिकता दिन बाटो खोलेपछि जिल्ला प्रशासन कार्यालयमा भीड लागेको हो । नागरीकता वितरणलाई सहज बनाउन जिल्ला प्रशासन कार्यालयले टोकन प्रणाली लागु गरेको छ । टोकन लिएर सर्वसाधारणहरु घर फर्किन्छन् र आवश्यक कागजपत्र पु¥याएर आफ्नो पालोमा आएर नागरिकता बनाउने व्यवस्था कार्यालयले मिलाएको छ ।
विराटनगरका किसनकुमार यादवले खाना नखाइ नागरिकताका लागि लाइनमा बसिरहेको बताए । लाइन छोड्दा पालो नपाइने डर उनलाई छ । ‘आज टोकन नपाए राति जिल्ला प्रशासन अगाडि ओछ्यान लगाएर सुत्ने उनले सुनाए । उनले भने ‘घरबाट झुल र सिरानी मगाइसकेको छु, यतै म्याट किनेर भोलिका लागि लाइनमा बस्ने सोचेको छु ।’ तराईको चर्को गर्मीमा धेरै युवाहरु छाता ओढेर लाइनमा बसिरहेका थिए ।
जिल्ला प्रशासन कार्यालयले एक लटमा ४० जनालाई टोकन दिने गरेको छ । एक पटकमा ४० जनालाई टोकन दिने गरेको सहायक प्रजिअ शरदकुमार पोख्रेलले बताए । जन्मसिद्धका सन्तानलाई नागरिकता दिनका लागि प्रशासनले छुट्टै कोठाको व्यवस्था गरे पनि जनशक्ति र कम्प्युटर अभाव हुँदा समस्या भएको सहायक प्रजिअ पोख्रेलको भनाइ रहेको छ । ८० हजार हाराहारीमा आवेदन पर्न सक्ने जिल्ला प्रशासन कार्यालयले अनुमान गरेको छ ।
‘वंशजको नागरिकताकाका लागि छुट्टै कोठा र तिन जना कर्मचारी राखेका छौ,’ प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले भने ‘प्रतिलिपिसहित दैनिक १५० वटाभन्दा बढी नागरिकता जारी गर्दै आएका थियौं त्यो काम पनि रोक्न मिल्दैन । जनशक्ति र स्रोतको व्यवस्थापन गरिदिन गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयमा पठाएका छौँ ।’
मोरङको उर्लाबारी र रंगेलीस्थित दुई इलाका प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालय विराटनगरसहित तीन ठाउँबाट नागरिकता वितरण गर्ने कार्य जारी राखिएको छ । सोमबार १२८ जना अंगिकृतका सन्तानले वंशजको नागरिकता प्राप्त गरेका थिए । प्रक्रिया समेत झन्झटिलो भएको सेवाग्रहीले बताएका छन् । बुबा–आमाको नागरिकता, वडाको सिफारिस, बसाइँ सरी आएको भएमा बसाइँ सराई दर्ताको प्रमाण, स्थानीय बसोबास प्रमाणित पारिवारिक विवरण, व्यक्तिको जन्म दर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र र नाबालक परिचयपत्र अनिवार्य लिएर जानु पर्ने प्रावधान रहेको छ ।
सक्कल नाता प्रमाणित, बाबुआमाको विवाह दर्ताको प्रमाणपत्र, बाबुआमाको मृत्यु भइसकेको भए मृत्यु दर्ता प्रमाणपत्र, जग्गाधनी प्रमाण पुर्जा तथा स्थायी बसोबास सिफारिस, व्यवसाय दर्ता प्रमाणपत्र, २०६३ सालको टोलीमा नाबालक दर्ता गराएको भए सोको निस्सा र स्वघोषण गरेको प्रमाण लिएर गएपछि जिल्लाला प्रशासनले कागजात हेरेर मात्रै टोकन दिने गर्छ । आमाको नामबाट मात्रै भने जिल्ला प्रशासनले नागरिकता दिँदैन । दिने गरेको छैन ।

