सम्पादकीय
बर्खा छिप्पिँदै गएपछि तराईमा सर्पको बिगबिगी पनि बढ्न थाल्छ । पछिल्ला केही दिनयता निरन्तरजसो सर्पदंशका विरामीको मृत्यु भएको खबर आइरहेका छन् । कोशी प्रदेशमै पनि सर्पदंशको पीडा ठूलो छ । खासगरी नेपालको तराईका जिल्लाहरुमा मात्रै हरेक वर्ष ४० हजार हाराहारीलाई सर्पले डस्ने गरेको छ । जसमध्ये ३ हजार हाराहारीले ज्यान गुमाउँछन् । ज्यान गुमाउनेमध्ये ७६ प्रतिशत महिला रहेको तथ्यांक देखिएको छ । स्वास्थ्य सम्बन्धि विश्वप्रसिद्ध जर्नल ‘द ल्यान्सेट ग्लोबल हेल्थ’ को गगतवर्षको तथ्यांकका अनुसार नेपालमा ५ देखि १४ वर्ष उमेर समूहका नागरिक धेरै सर्पदंशको पीडामा पर्ने गरेका छन् । यो त तराईका जिल्लाहरुमा भएको अध्ययनको निष्कर्ष मात्रै हो । पहाडमा पनि सर्पको समस्या छ । त्यहाँको अवस्था के होला ? कहालीलाग्दो देखिने सर्पदंशले निम्त्याउने क्षति कम गर्न यसबारे सरकार, नागरिक सबै गम्भीर बन्न आवश्यक छ ।
सर्पले डसेर मर्ने तीन हजार जनामध्ये एक तिहाई नागरिकले उपचारै नपाउने अवस्था सबैभन्दा दुःखद् छ । सर्पले डस्ने समस्या तराईका जिल्लामा बढी छ । तर, तराईका धेरै ठाउँमा अहिले पनि सर्पदंश उपचार केन्द्र छैन । भए पनि पर्याप्त उपकरण ती केन्द्रमा छैनन् । सरकारी अस्पतालमा मात्रै केन्द्रीत उपचारलाई विभिन्न ठाउँमा नेपाली सेना र रेडक्रसले पनि सेवा उपलब्ध गराएका छन् । यद्यपि उपचारका ती केन्द्रसम्म पीडित पुग्नै पाउँदैनन् । यसमा मुख्यतः दुईटा कारण छन् । पहिलो, यातायात ससुविधा सबै ठाउँमा सजिलै उपलब्ध छैन । दोस्रो, धेरैले आफूलाई सर्पले डसेको थाहै पाउँदैनन् । यसरी हरेक वर्ष तराईमा सर्पले धेरैको ज्यान लिएको छ । यो समस्याको निदानका लागि तीन वटै तहका सरकारले उपयुक्त प्रबन्धमा ढिलाइ गर्न हुँदैन ।
यसबाहेक अर्को समस्या अन्धविश्वासको पनि छ । सर्पले डसेका विरामीलाई घरैमा उपचार गर्ने बहानाले धेरैको ज्यान लिएको छ । सर्पले ज्यादै विषालु विष मानव शरीरमा प्रवेश गराउँछ । तर, सर्वसाधारण भने परम्परागत विधिबाट घरैमा झारफुकमा लाग्छन् । सर्पको डसाइ झारफुकले वा अन्य कुनै घरेलु विधिले ठीक हुँदैन । कम्तीमा यो चेतना सर्प प्रभावित क्षेत्रमा फैलाउन आवश्यक छ । सतर्कताका उपायबारे पनि सर्वसाधारणलाई सूचित गर्नु आवश्यक छ । र, उत्तिकै आवश्यक छ सर्पदंश उपचारलाई अझै सुलभ बनाउन पनि । यसका लागि तराईका स्थानीय सरकारले आफ्नो गाउँ वा नगरपालिका क्षेत्रमा कम्तीमा एउटा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न जरुरी छ । साथै सर्पको अति प्रभाव क्षेत्रमा मोटरसाइकल एम्बुलेन्स प्रबन्ध गर्न पनि सकिन्छ । त्यसका लागि स्वयंसेवक दस्ता बनाउन सकिन्छ ।
मोरङ, सुनसरी, झापा, उदयपुर जस्ता तराईका जिल्लामा यस्तो प्रबन्ध गर्न समस्या हुँदैन । मात्रै स्थानीय सरकारको प्रतिबद्धता र लगन चाहिन्छ । यसमा प्रदेश र संघ सरकारले पनि सहयोग गर्न सक्छन् । समुदायकै सहयोग लिन पनि सकिन्छ । जसरी हुन्छ, सर्पदंश पीडित विरामीले समयमै उपचार पाउने प्रबन्ध सरकारी तहबाट हुन आवश्यक छ । सरकारले गर्नैपर्ने अर्को काम भनेको सर्पदंश उपचार केन्द्रहरुलाई उपकरण पुग्दो दिनुपर्छ, सोही अनुसारको जनशक्ति पनि परिचालन गर्नुपर्छ । सर्पले डस्दा स्नायु प्रणालीमा असर हुन्छ । त्यसपछि श्वासप्रश्वासमा असर पर्छ । यसबाहेक सर्पदंशका विरामीको उपचार गर्न चिकित्सकहरु हच्किँदा पनि मानवीय क्षति बढी भइरहेको छ । यी सबै तथ्यहरुको मिहीन अध्ययन गरेर सरकारले ठोस योजना कार्यान्वयनमा ल्याउनुपर्छ । नागरिकको जीवन रक्षा राज्यको आधारभूत दायित्व हो । यसमा उसले यो वा त्यो बहाना देखाउन पाउँदैन ।