विराटनगर । इन्टरमोडल यातायात विकास समितिले व्यवस्थापन गर्ने टुंगो भएसँगै भारत बथनाहबाट विराटनगरको भन्सार यार्डसम्मको कार्गो रेल सेवा पुनः सुरु हुने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उद्घाटन गरेको दिन विराटनगर आएर फर्किएको कार्गो रेल त्यसपछि फेरि आएन । व्यवस्थापकीय विवाद निरुपण नहुँदा उत्साहपूर्वक सुरु भएको कार्गो रेल सेवा हालसम्म ठप्पै छ ।
यसबीचमा कार्गो रेल सेवालाई निरन्तरता दिने उपायको खोजी भइरहेको थियो । भारत बिहारको बथनाहदेखि विराटनगर भन्सार यार्डसम्मको कार्गो रेल सेवालाई निरन्तरता दिन सरोकारवाला निकायबीच त्रिपक्षीय कार्यगत सहमति भएको छ । सहमतिसँगै कार्गो सेवाले निरन्तरता पाउने भएको हो ।
यसको सेवालाई निरन्तरता दिनका लागि रेल सेवासँग प्रत्यक्ष सरोकार रहेको नेपाल रेल विभाग, उद्योग वाणिज्य मन्त्रालय अन्तर्गतको इन्टर मोडल यातायात विकास समिति र विराटनगर भन्सार कार्यालयबीच कार्यगत सहमति भएको हो । नेपालतर्फ रेल विभाग वा उद्योग वाणिज्य मन्त्रालय अन्तर्गतको इन्टरमोडल कम्पनीमध्ये कसले व्यवस्थापनको जिम्मेवारी लिने भन्ने विषय टुङगो नलाग्दा रेल सञ्चालनले निरन्तरता पाउन सकेको छैन ।
नेपाल रेल्वे विभागका निर्देशक निरन्जनकुमार झा, इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेल र विराटनगर भन्सार प्रमुख ज्ञानेन्द्र ढकालबीच कार्गो रेल सेवा सञ्चालनका लागि एकीकृत सहमति भएको छ । सहमतिअनुसार इन्टर मोडल यातायात विकास समितिले कार्गो रेलको व्यवस्थापन गर्ने, सामान अनलोड गरेर भन्सार यार्डसम्म पु¥याउने र भन्सार जाँचपास भएपछि गन्तव्यसम्म पठाउने जिम्मेवारी लिएको गजुरेलले बताए । उनका अनुसार सुनसरी मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यवसायीले पनि नियमित रुपमा औद्योगिक कच्चा पदार्थ र व्यापारिक सामान कार्गो रेलबाट नै आयात गर्ने प्रतिवद्धता जनाएका छन् ।
रेल विभागको जिम्मामा रेलको प्राविधिक र व्यवस्थापन पक्षसहित सुरक्षा, सूचना प्रवाह र आवश्यक कर्मचारीको व्यवस्थापन गर्ने र भन्सारले सक्दो चाँडो पारदर्शी रुपमा जाँचपास गरेर सहजीकरण गर्ने जिम्मेवारी परेको गजुरेलले बताए । वीरगञ्ज सुख्खा बन्दरगाहको भन्दा बढी कार्गो रेल ढुवानी शुल्क बढी नलिन भारतीय पक्षसँग आग्रह गर्ने, कष्टम यार्डको रेलको संकेत नम्बरकालागि भौतिक मन्त्रालय समक्ष पहल गर्ने सहमति पनि भएको छ ।
छलफलमा सहभागी उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना र मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीसहितका उद्योगी व्यवसायीले कार्गो रेल सेवाले निरन्तरता पाएपछि औद्योगिक कच्चा पदार्थ र व्यापारीक सामान आयात गर्दा ट्रक र कन्टेनरको दाँजोमा ढुवानी लागत न्यून हुने बताए । यस क्षेत्रका उद्योगीले औद्योगिक कच्चा पदार्थ भारतको कोलकताबाट ट्रक वा कन्टेनरबाट ढुवानी गर्दा प्रतिकिलो भारु ३ रुपैयाँ ढुवानी भाडा तिर्दै आएका छन् तर कार्गो रेलबाट कच्चा पदार्थ आयात गर्दा प्रति किलो भारु एक रुपैयाँ ९५ पैसा मात्रै ढुवानी खर्च लाग्ने सम्बद्ध पक्षको भनाइ छ ।
बथनाहादेखि विराटनगरसम्म रेल्वेको काम सुरु भएको १२ वर्ष बितेको छ । मोरङको कटहरीसम्मको १८ दशमलव ६ किलोमिटर लम्बाइ ब्रोडगेज रेलमार्ग भारत सरकारको सहयोगमा निर्माणाधीन छ । करिब ४ अर्ब भारतीय लगानीमा भारतको इरकोन कम्पनीले सन् २०११ मा रेलको लिग विछ्याउने लगायत काम सुरु गरेको थियो । सन् २०१७ मै निर्माण कार्य सम्पन्न भइसक्नुपर्ने थियो । मोरङका कटहरी गाउँपालिका–१ महेशपुरको ६ बिघा जमिनको मुअब्जा विवादले निर्माण कार्य रोकिएको छ । हाल सञ्चालन गरिएको बथनाह विराटनगर भन्सार यार्डसम्म साढे सात किलोमिटर रेलमार्गको लिग परीक्षण चार वर्ष पहिला गरिएको थियो ।

