विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले सोमबारबाट जन्मसिद्धका सन्तानलाई नागरिकता वितरण सुरु गरेको छ । कार्यालय परिसरमा बिहानदेखि नै आवश्यक कागजातसहित नागरिकताका लागि आउनेहरुको घुइँचो लागेको छ । लामो समयदेखि नागरिकता पाउनकै लागि संघर्ष गरिरहेका तन्नेरीहरुले नागरिकता पाएपछि खुसी प्रकट गरेका छन् ।

कटहरी गाउँपालिकाका निरज कामतले आज नागरिकता प्राप्त गरेसंगै खुसी व्यक्त गरे । चार वर्ष देखि नागरिकता संघर्ष समितिले गरेको संघर्षस्वरुप आफूले नागरिकता पाएको उनले बताए ।

प्रहरी जवान बन्ने सपना साँचेका निरज २६ वर्षका भए । र हालै नाकरिकता पाएकोले सपना अधुरै भएको बताए । यस अघि उनले नागरिकता पाउनका निम्ति आन्दोलन गर्ने क्रममा आफ्नै शरिरमा पेट्रोल खन्याएर आत्मदाहको प्रयाससमेत गरेका थिए ।

तीन घण्टा तातो घाममा लाइनमा बसेका कटहरी गाँउपालिकाका राजेन्द्र कुमार झाको पनि नागरिकता सपना पूरा भएको छ । आफूले ढिलै भए पनि नागरिकता पाउँदा न्याय पाएको अनुभव उनले सुनाए ।

लामो समयको आन्दोलनपछि नागरिकता पाउनेहरु खुसी भए पनि नितरणमा केही समस्या भएको जिल्ला प्रशासनले जनाएको छ । ‘केही ह समस्याहरु आइरहेका छन् । पालिकाहरुसंग छलफल गरेर समाधान खोज्ने प्रयास भइरहेको छ’, प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले भने ।