विराटनगर । नेपाल औषधी व्यवसायी संघको ५० औँ स्थापना दिवसको अवसर पारेर औषधी व्यवसायी संघ मोरङ शाखाले सुरु गरेको सप्ताहव्यापी कार्यक्रम सकिएको छ ।
संघले विराटनगरमा आइतबार एक भव्य कार्यक्रम आयोजना गरी सप्ताहव्यापी कार्यक्रम समापन गरेको हो ।
संघले असार ६ गतेदेखि १० गतेसम्म विभिन्न सामाजिक कामहरू गरेको थियो । सप्ताहव्यापी रूपमा गरेको कार्यक्रम अग्रज औषधी व्यवसायीलाई सम्मान गरेर सकेको हो । संघको स्थापना दिवसको अवसर पारेर अग्रज औषधी व्यवसायी बेलबारीस्थित भण्डारी मेडिकल हलका ८० बर्सिया नारद भण्डारीलाई सम्मान गरिएको छ । सम्मानित भएका अग्रज व्यवसायी भण्डारी २०४८ सालदेखि औषधी व्यवसायी क्षेत्रमा आबद्ध भएर मर्यादित र स्वच्छ तरिकाले व्यापार व्यवसाय गर्दै आएका छन् । भण्डारीलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद भीम पराजुलीले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे । सोही दिन संघको भवनमा झन्डोत्तोलन कार्यक्रम पनि गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रदेश सांसद पराजुलीले औषधी व्यवसायी सम्मानित पेसा भएकाले मर्यादित र स्वच्छ रूपमा व्यवसाय गरिनुपर्नेमा जोड दिए । व्यवसायीहरूको हकहितमा प्रदेश सभामा जहिले पनि आवाज बुलन्द गरेर अगाडी बढ्ने उनले बताए ।
कार्यक्रममा नेपाल औषधी व्यवसायी संघ कोशी प्रदेशका सह कोषाध्यक्ष प्रदीप दास, एनसीडिए सुनसरीका अध्यक्ष रवीन्द्र घिमिरे, मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, नेपाल औषधी तथा विक्री प्रतिनिधि संघ केन्द्रीय कोषाध्यक्ष राम लुइँटेल, नेपाल औषधी थोक व्यवसायी सघंका कोशी प्रदेश अध्यक्ष श्रीपतिलाल दास, मोरङ ट्राफिक प्रहरी प्रमुख ट्राफिक प्रहरी निरीक्षक सुनिल श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रमको स्वागत मन्तव्य सङ्घका सदस्य प्रकाश धिमालले गरेका थिए भने कार्यक्रम सञ्चालन उपाध्यक्ष देशबन्धु ढकालले गरे ।
यसअघि संघले स्थापना दिवसको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर, खुल्ला रक्तदान कार्यक्रम, कोशी अस्पतालमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण र मोरङ ट्राफिक प्रहरीलाई स्वास्थ्य सामग्री वितरण गरिसकेको छ ।

