विराटनगर । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ र पाँचथरमा बाढी र पहिरोमा परी मृत्यु भएका मृतकका परिवारलाई प्रदेश सरकारले राहत पठाएको छ ।

सरकारले प्रत्येक मृतकका परिवारले पाउने गरी एक लाख रुपैयाँका दरले राहत रकम पठाएको हो ।बाढी पहिरोमा परी मत्यु भएका जुना साउदेन, संजोग लिम्बू र एलिशा माझी तथा ताप्लेजुङको पहिरोमा परी मृत्यु भएका गणेश तामाङ, सुरेश राई, र केशर राईको परिवारलाई रकम पठाइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

सम्बन्धित जिल्ला प्रशासन कार्यालयले तोकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पुग्ने गरी उक्त राहत रकम बिहीबार कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले पठाएको हो । सोमबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रतिमृतक एक लाखका दरले मृतकको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।

त्यसैगरी बिहीबार नै बाढी पहिरोमा परी क्षतिग्रस्त भएका सखुवासभाका १७ वटा घर पुनः निर्माणका लागि राहातस्वरुप सात लाख ७० हजार रुपियाँ पठाएको छ । जसमा पूर्ण क्षति भएका १३ वटा घर पुनः निर्माणका लागि प्रति घर ५० हजारका दरले र आंशिक क्षति भएका चार वटा घर पुनः निर्माणका लागि ३० हजारका दरले राहत रकम पठाइएको हो । उक्त रकम पनि जिल्ला प्रशासन कार्यालय सखुवासभाले ताकेको कोष तथा लेखा नियन्त्रण कार्यालयको खातामा पठाइएको हो ।