विराटनगर । चर्चित र्यापर गिरिस् खतिवडाले सञ्चालन गरेको विराटनगरस्थित ‘जी क्याफे एन्ड बिस्त्रो’ मा एक जना युवाको रहस्यमय मृत्यु भएको छ ।
मोरङको धनपालथान गाउँपालिका ४ स्थित कर्सिया बजारमा चाँदनी फ्रेस हाउस सञ्चालन गर्दै आएका कासीद अन्सारीको क्याफेमा रहस्यमय तरिकाले मृत्यु भएको हो ।
अन्सारी क्याफेमा मासु बेच्न लैजाने गरेका थिए । गत असार ३ गते बिहान बिहान खतिवडाको क्याफेमा मासु दिए बापत ४० हजार रुपैयाँ लिन अन्सारी क्याफे पुगेका थिए । मृतकका भाइ मासिदले मासु बिक्री गरेको पैसा माग्न जाँदा आफ्ना दाजुको हत्या भएको आरोप लगाएका छन् ।
करिब २० वर्ष अघिदेखि कर्सिया बजारमा फ्रेस हाउस सञ्चालन गर्दै आएका अन्सारीले विराटनगरमा १० वटा रेस्टुरेन्ट तथा क्याफेहरूमा मासु बिक्री वितरण गर्दै आएका थिए । मृतकका परिवारले अन्सारीको योजनाबद्ध हत्या भएकाले आफूहरूले सो क्याफे सञ्चालक खतिवडा र कर्मचारीहरु विरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएको बताए ।
अन्सारीले जिल्ला प्रहरी कार्यालय मोरङमा क्याफे सञ्चालक विराटनगर महानगरपालिका ८ का गिरीश खतिवडा, क्याफेमा काम गर्ने जहदा गाउँपालिका ३ का करण राजवंशी र विराटनगर महानगरपालिका १६ बस्ने अनुराग राउतको नाममा कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका हुन् ।
होटेल सञ्चालकले क्याफेको ढोकामा ठोकिएर अन्सारी घाइते भएको दाबी गरिएको छ । सिसाको ढोकामा ठोकिएर अन्सारीको तिघ्रामा गहिरो चोट लागेको र उपचारको लागि विराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको दाबी गरिएको छ । अन्सारीको देब्रे तिघ्रामा मात्र ३ इन्च लम्बाई र १ इन्च गहिरो काटिएकाले नासा काटिएर मृत्यु बुझिएको छ ।
मोरङ प्रहरीका प्रवक्ता रञ्जनकुमार दाहालले उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको बताए । उनले पोस्टमार्टमको रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताए । ‘अहिले घटनाको अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘पोस्टमार्टम रिपोर्ट आएपछि थप खुल्नेछ ।’

