संखुवासभा । संखुवासभामा बाढी पहिरोमा परी बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ । गत शनिवार राति अविरल वर्षासँगै आएको बाढी पहिरोका कारण २० जना बेपत्ता भएका थिए । बाढी पहिरो बाट बेपत्ता भएकाहरुको खोजी चौथो दिन पनि जारी छ । बाढी पहिरोका कारण संखुवासभाका १७ घर विस्थापित भएका छन् ।
बाढी पहिरोमा परेर बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए । बेपत्ताको चौथो दिन पनि बिहानैदेखि खोजी जारी रहेको डिएसपी गोदारले बताए । बेपत्ताको खोजीका लागि हेँवाखोला र सभा खोलाको बगरमा प्रहरीहरू परिचालित छन् ।
वर्षाका कारण खोजी कार्यमा समस्या भएको प्रहरीले जनाएको छ । घटना स्थलमा स्थानीय,सशस्त्र प्रहरी र नेपाल प्रहरी सहित खोजी कार्यमा सक्रिय रहेका छन् । बाढी र पहिरोमा परी बेपत्ता भएका संखुवासभा का विभिन्न स्थानका २० जनाको अवस्था अझै अज्ञात छ । बेपत्ता २१ जनाको पहिचान खुलेको भए पनि सोमबार एक जनाको मात्र शव फेला परेको छ । उनको पहिचान खुलेको छैन भने शरीरको आधा भाग पनि फेला नपरेको प्रहरीले जनाएको छ ।
बेपत्तामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका मात्रै १७ जना मजदुर छन् । बाढीले सभा पोखरीमा दुई, चैनपुरको नुनढाकीमा एक र अप्पर हेवाखोला हाइड्रोपावरका एक जना मजदुर पनि अझै बेपत्ता छन् ।बाढीले बगाउँदा सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने दुई जना मजदुर घाइते भएका छन् । गम्भीर घाइते दुवैको उपचार भइरहेको छ । चैनपुर नगरपालिका–४ र पाँचपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठुलो जनधनको क्षति भएको छ ।

