अनन्तराज न्यौपाने
कोशी प्रदेश सशस्त्र प्रहरीका डिआइजी अञ्जनीकुमार पोखरेलका एक घुमुवा इन्स्पेक्टरले गत हप्ता झापामा नेपाल प्रहरीका चार जनालाई निर्घात कुटपिट गरे । ती इन्स्पेक्टरको नाम नवलप्रभात राई हो । राईको मुक्का खानेमा प्रहरी हवल्दार पासाङ तामाङसहित जवानहरू रामबहादुर कार्की, गणेश तामाङ र साम्पाकुमार राई थिए । कारण के थियो सायद भनिरहनु पर्दैन । कारण थियो–तस्करीबाट उठेको रकमको बाँडफाँटको विवाद । इन्स्पेक्टर राई डिआईजी पोखरेलका रकमसङ्कलक थिए । राई नाकानाकाबाट तस्करीको पैसा उठाएर डिआईजी पोखरेललाई बुझाउँथे । कुटपिटको घटनाको चर्चा देशव्यापी रूपमा फैलियो । डिआइजी पोखरेललाई अप्ठ्यारो पर्यो । अन्ततः उनले इन्स्पेक्टर राईलाई निलम्बन गरे । गर्नुपर्ने त जागिरबाटै बर्खास्त थियो । एक अधिकृतका लागि यस्तो हर्कत पटक्कै नसुहाउने विषय हो । त्यसैले इन्स्पेक्टर राई बर्खास्तकै भागी थिए । तर डिआइजी पोखरेल आफैँ तस्करीका मतियार भएकाले उनले राईलाई नरम कारबाही मात्र गरे । घटनाले राईको भन्दा पोखरेलको मखुन्डो उतार्ने काम गर्यो ।
नेपालमा देखिएको के छ भने प्रहरी मात्र सुध्रियो भने नेपालको अवैध व्यापार, कुशासन, अपराध–शृङ्खला र आर्थिक अनियमिततामा आमूल सुधार आउन सक्छ । तर कहिले सुध्रेला प्रहरी ? कोभिडका वेला नेपालको दक्षिणी सीमा क्षेत्र लगभग सिलको अवस्थामा थियो । सिलका कारण त्यस अवधिमा अवैध निकासी–पैठारीको कारोबार पनि बन्दप्राय भयो । नेपालका बिस्कुट, भुजिया, स्न्याक्स, खाने तेल, खाद्यान्न लगायतका उद्योगहरू त्यस वेला २४ घण्टा चलेका थिए । जबकि ती उद्योगहरू त्यसअघि दिनको १२ घण्टाभन्दा बढी कहिल्यै चलेका थिएनन् । अवैध आयात बन्द हुँदा नेपालको उद्योगव्यापारमा रौनक आएको थियो ।
अर्को एउटा उदाहरण छ । गत मंसिरको चुनावलगत्तै गृहमन्त्रीमा रवि लामिछाने नियुक्त भए । यद्यपि लामिछाने एक विवादास्पद नेताका रूपमा स्थापित छन् तर उनले आफ्नो एक महिनको छोटो कार्यकालमै नेपालका सीमा नाकाबाट हुने अवैध धन्धा लगभग बन्द गराइदिए । फेरि त्यो बेला नेपालका दैनिक उपभोग्य वस्तुका उद्योगहरू २४ घण्टा सञ्चालनमा आउन थाले । तर, शपथग्रहणको एक महिनापछि लामिछानेको वहिर्गमनसँगै तस्करीले पुनः टाउको उठायो र अहिले पनि प्रहरीको संरक्षणमा देशभरि नै अवैध कारोबारको लाइन चलिरहेकै छ ।
लेखकलाई राम्रो सम्झना छ । यस प्रदेशमा नेपाल प्रहरीका डिआइजी ईश्वरबाबु कार्की भएका वेला सुनसरीको सीमान्त क्षेत्रमा तस्करीको स्याउ गाडीसहित पक्राउ प¥यो । घटनाले देशव्यापी चर्चा पायो । तर अन्ततः यस प्रकरणमा डिआइजी कार्यालयका तल्ला तहका प्रहरी अधिकृतलाई कारबाही गरियो । डिआइजी कार्कीलाई सुनपानी छर्कने काम भयो । जबकि स्याउतस्करीको लाइन चलाउने मिटिङ डिआइजीकै क्वार्टरमा हुने गथ्र्यो । उनकै संरक्षणमा इलाम, झापा, मोरङ र सुनसरीका सीमाक्षेत्रमा तस्करीको बाढी आयो । अति बदनाम भएपछि गृह मन्त्रालयले समय नपुग्दै कार्कीलाई हटाउन खोज्यो । तर उनलाई बलात् हटाएर यहाँ आउन अर्का कुनै पनि डिआइजी मानेनन् । त्यसैले कार्की पूर्ण अवधिसम्म बस्न पाए ।
कार्कीपछि डिआइजी अरुण बिसीको पदस्थापन भयो । नेपाल प्रहरीमा स्वच्छ छविका बिसीले कार्कीले उत्कर्षमा पु¥याएको तस्करीलाई नियन्त्रण गर्लान् भन्ने आशा थियो । तर जागिरको उत्तरार्धमा आफू आइजी हुन नसक्ने देखेपछि बिसीले पनि गति छाडे । आखिर लाइनको महिनाबारी नियमित आउँथ्यो । स्वच्छ छविका बिसीको स्वच्छतामा यही कार्यकालमा कालो पोतियो । पूर्वको तस्करी धन्धा यथावत् रह्यो ।
बिसीपछिका डिआइजी सुदीप गिरी थिए । सुदीपका बारेमा त जति शब्द लेखे पनि कम हुन्छ । डिआइजीमा गिरी, मोरङको एसपीमा शान्तिराज कोइराला । अनि पूर्वका सबै जिल्लामा यस्तै भ्रष्टहरूको टिम । उता प्रधानमन्त्रीमा शेरबहादुर देउवा अनि गृहमन्त्रीमा बालकृष्ण खाँड । यस अवधिमा पूर्वमा डिआइजी गिरीको प्रत्यक्ष संलग्नतामा तस्करी धन्धाको नाङ्गो नाच देखियो । विराटनगर भन्सारका प्रमुख र अधिकृतहरूको क्वार्टरकै अगाडिबाट हरेक बिहान झिसमिसेमा कपडाको अवैध आयात ठुलो परिमाणमा हुन्थ्यो । यसको ओसारपसारमा प्रहरीकै जवान र हवल्दारहरू संलग्न हुन्थे । तत्कालीन भन्सार प्रमुख तारा सापकोटाले अवैध आयात रोक्न प्रहरी–प्रशासनलाई धेरै पटक हारगुहार गरे । तर कहिल्यै सहयोग पाएनन् । केही नलागेर प्रमुख सापकोटा आफ्ना कर्मचारीको मात्रै टिम लिएर दशगजा पुगे । तस्करहरूले सापकोटासहितका कर्मचारीलाई दुव्र्यवहार गरे । सीमा प्रहरी चौकीका इन्चार्ज लगायतका प्रहरीहरू मूकदर्शक बनिरहे ।
एसपी शान्तिराज कोइरालाले भन्सारबाट छुटेका ट्रकहरू धमाधम पक्राउ गरेर राजस्व अनुसन्धानमा बुझाए । कोइरालाको हर्कतले व्यापार सहजीकरणमै अवरोध उत्पन्न भयो । अन्ततः १५ जना क्लियरिङ एजेन्टसित महिनाको एकदेखि डेढ लाखको घुसमा सहमति भएपछि नाटकीय रूपमा कोइरालाले ट्रक पक्रन छाडे । प्रहरीको यस्तो खुलमखुल्ला कालोमैलो धन्धा र भ्रष्टाचारले दुर्गन्धित अनि फोहरी अनुहार यस लेखकले कहिल्यै देखेको थिएन ।
डिआइजी गिरी र एसपी कोइरालाले केही सञ्चारकर्मीलाई पनि प्रभावमा पारे । अपराध बिटमा काम गर्ने भनिने केही सञ्चारकर्मीले गिरी र कोइरालाले अवैध धन्धा, राजस्व छली र अपराधनियन्त्रणमा कसैले गर्न नसकेको पुरुषार्थ गरेको भन्दै समाचार सम्प्रेषण गरिरहे । उनीहरू पत्रकारभन्दा पनि अवैध कार्यमा प्रहरीका सहयोगी र सुराकी बनिरहे ।
सशस्त्र प्रहरीबारे पनि केही चर्चा गर्नु सान्दर्भिक हुनेछ । खासमा सशस्त्र प्रहरी माओवादी विद्रोहलाई दमन गर्न गठन गरिएको थियो । तत्कालीन सेनाले माओवादीलाई दमन गर्न अस्वीकार गरेपछि त्यस वेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सरकारले सशस्त्र प्रहरीको गठन गरेको हो । शान्तिप्रक्रियासँगै सशस्त्र प्रहरीको औचित्य समाप्त भइसकेको छ । यसलाई नेपाल प्रहरीमा समायोजन गरिदिनु सान्दर्भिक हुनेछ । यति वेला सशस्त्र प्रहरीको खासै काम केही छैन । उसको मुख्य काम भनेको सीमा क्षेत्रमा तस्करीको धन्धा चलाउने र अवैध आर्जन गर्ने मात्र हो ।
फेरि नेपाल प्रहरीतिरै फर्किऊँ । डिआइजी गिरी र एसपी कोइरालाको सरुवा भएपछि आएका नयाँ डिआइजी र एसपीले त केही सुधार गर्लान् भन्ने आसा गरिएको थियो । तर यिनीहरू पनि गिरी र कोइरालाकै पदचिह्नका अनुयायी भएका छन् । अर्थात् तस्करी धन्धालाई संरक्षण गरिरहेकै छन् ।
प्रतिकार गर्दै भन्न सक्छन्, कहाँ छ तस्करी धन्धा जोगबनी नाकामा गएर हेर्नूस् कति नियन्त्रण गरेका छौँ भनेर । तर जोगबनी नाकालाई नियन्त्रण गरेर अरू नाकामा लाइन चलाएको यथार्थ घामजत्तिकै छर्लङ्ग छ । नभए यस क्षेत्रका हरेक पसलमा भारतीय कम्पनीका स्न्याक्स, खाने तेल, पनीर, पेय पदार्थ, चिनी, मोटर पार्टस्, ग्यास चुह्लोका सामानहरू लगायत धेरै वस्तुहरू कसरी पाइन्छन् ? तस्करी छ कि छैन भनेर दशगजामा हेर्न जानुपर्दैन घरअगाडिको सानो पसलमा हेरे पुग्छ ।