धनगढी । सुदुरपश्चिम प्रदेशको बझाङमा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ प्रदेशका मन्त्रीसहित तीन जना घाइते भएका छन् ।
बझाङको केदारस्युँ गाउँपालिकामा सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गाडी दुर्घटना हुँदा उनकी श्रीमतिसहित दुई जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । मृतकहरुको शव ऋतु पोलिक्लिनिक देउडामा रहेको बताइएको छ ।
दुर्घटनामा मन्त्री सिंहसहित, चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारी गम्भीर घाइते भएका छन् । उनीहरुलाई थप उपचारका लागि हेलिकप्टरमार्फत् नेपालगञ्ज लगिएको प्रहरीले ज नाएको छ ।
मन्त्री सिंह चढेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ४८० नम्बरको जीप धनगढीबाट बझाङ जाँदै गर्दा केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो । गाडी कालङगा नदीको किनारमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।