विराटनगर । तीन दिन अगाडि परेको अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी वेपत्ता भएका संखुवासभाका २० जनाको अवस्था अझै अज्ञात छ । वेपत्ता २१ जना को पहिचान खुलेको भएपनि हिंजो साँझ एक जनाको शव कम्मर मुनिको भाग फेला परेको थियो । उनको पहिचान खुलेको छैन भने शरीरको अर्को भाग पनि फेला नपरेको प्रहरीले जनाएको छ ।

संखुवासभा जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी वीरेन्द्र गोद्धारले आज पनि बिहानैदेखि उनीहरुको खोजी जारी रहेको बताए । ‘खोजी जारी नै छ । आज बिहानैदेखि टोली लागिरहेको छ । हिंजो एउटा शव भेटिएको थियो । त्यो पनि कम्मरभन्दा तलको भाग मात्रै छ । कस्को हो भन्ने विषयमा पहिचान खुलेको छैन । अरू व्यक्ति फेला परेका छैनन्,’ गोद्धारले भने, ‘खोजीको लागि हेवा खोलाको बगरमा प्रहरीहरु परिचालित छन् ।’

उनका अनुसार यसअघि २० मिटर चौडामा रहेको खोलाको आकार अहिले बढेर १५० मिटर भन्दा बढीको भएको छ भने त्यसपछि बनेको बगरमा १० देखि १५ फिट अग्लो बालुवा र माटो थुप्रिएको छ । ‘हेवा खोला पहिले लगभग २० मिटरजटिको थियो । अहिले १५० मिटर जटि फराकिलो बनेको छ । लगभग १० देखि १५ फिटमाटो र बालुवा थुपारेको छ । त्यसले गर्दा खोजीको कार्यमा कठिनाइ भएको छ,’ उनले भने, ‘अहिले प्रहरीबाट १०७ जना, सशस्त्र प्रहरीबाट ५५ जना र नेपाली सेनाबाट १२५ जना गरेर २९१ जना सुरक्षाकर्मीको टोलीले खोजीमा लागेका छन्,’ उनले भने, ‘त्यसबाहेक गाउँपालिकामा रहेका जनप्रतिनिधि तथा स्थानीय युवाहरु पनि संलग्न छन् ।’

सुरक्षाकर्मीहरुले बगरको दुवै साइडबाट शंका लागेको ठाउँमा कोट्याउँदै हेर्दै गरिरहेको छ । ‘पुरै बगर खन्न सम्भव छैन । यद्यपि पानीले बगाएको वा डुबाएको अवस्थामा भेटिन्छ कि भनेर खोजी गरिरहेको अवस्था छ,’ प्रहरी प्रमुख गोद्धारले भने ।
संखुवासभाको चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेंवा हाइड्रोपावरका १७ जना मजदुर वेपत्ता भएका थिए । ‘हाइड्रोमा काम गर्ने मानिसहरु माथिबाट ठूलो भेल आयो र बगायो । हाइड्रोमाथि पुरै बालुवा थुपारेको छ । कतिपय ठाउँमा ठूलोठूलो खाल्डो पनि बनेको छ,’ प्रहरी प्रमुख गोद्धारले भने ।

पानी तथा दहमा वेपत्ता भएकाहरुको खोजीमा गोताखोर झिकाइने गरिएको छ । तर, संखुवासभाको उक्त खोलामा गोताखोरले पनि खोजी गर्न नसक्ने अवस्था रहेको उनले बताए । ‘गोताखोरले खोजी गर्नका लागि पानीका बहाब घट्नुपर्छ । अहिले केही घटेको पनि छ । तर, पानीको बहाब घटे पनि हिलो लेदोसहितको पानी आइरहेको छ । ठाडो खोला भएको कारण पानीभित्र गएर खोज्नसक्ने अवस्था छैन,’ उनले भने, ‘केन्द्रको टोली आएर पनि हिंड्ने र खोज्ने बाहेक अरू सम्भव नै छैन । सबैतिर बालुवाले भरिएको र बगर पनि डेढसय मिटर फराकिलो भएको कारण अन्य तरिकाले खोजी गर्न सम्भव छैन ।’
उनले खोलामा कुनै पनि खालको इक्वीपमेन्ट प्रयोग गर्न पनि असम्भव रहेको बताए । ‘ठाउँठाउँमा पहिरो गएको छ र हिंडेर जाने तथा काहाँ केही छ कि भनेर शङ्काको आधारमा खोतल्ने बाहेक अरू सम्भव छैन,’ उनले भने ।

संखुवासभामा बाढी पहिरामा परेर वेपत्ता २१ जना वेपत्ता भएका छन् । जसमध्ये एक जनाको शव भेटिएको छ । चैनपुर नगरपालिका–१० निगुरेमा हिंजो साँझ एक जनाको शव फेला परेको हो । वेपत्ता २१ जनामध्ये चैनपुर नगरपालिका–४ मा निर्माणाधीन सुपर हेँवा हाइड्रोपावरका मात्रै १७ जना मजदुर छन् । बाढीले सभापोखरीमा दुई, चैनपुरको नुनढाकीमा एक र अप्पर हेवाखोला हाइड्रोपावरका एकजना मजदुर अझै वेपत्ता छन् ।

बाढीले बगाउँदा सुपर हेँवाखोला हाइड्रोपावरमा काम गर्ने दुईजना मजदुर घाइते भएका छन् । गम्भीर घाइते दुवैको उपचार भइरहेको छ । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिराले खोला थुनिएपछि आएको बाढीले बगाउँदा ठूलो जनधनको क्षति भएको छ ।

बेपत्ताहरुको नामावली

वेपत्ता हुनेहरुमा सुपर हेँवा हाइड्रोपावरका सुपरभाईजर सुनसरी इटहरीका सन्तोस ढकाल, चैनपुर नगररपालिका–४ का भुवनसिंह तामाङ, चैनपुरका सुवास राई, सुपरभाईजर झापा गौराहदहका फैजबहादुर कार्की, धनकुटा पाख्रीवासका गणेश गिरी, ईलामका राजकुमार मगर, झापाका मिना श्रेष्ठ (भान्से), कैलालीका रामजतन थारु, बर्दियाका राहुल थारु, रोहित थारु, पुलसन थारु, कालीराम थारु, राजराम थारु, कैलालीका सुगत थारु, अमर थारु, सिता थारु र संखुवासभा पाँचखपनका दिपक मगर रहेका छन् ।

यस्तै सभापोखरी–३ सुनाम्लामा गोठ बगाउँदा ६० बर्षीय गणेश राई र ६१ वर्षीया सञ्चमाया राई वेपत्ता भएका छन् । चैनपुर नगरपालिका १ नुनढाकीमा बर्दिया नगरपालिकाका भिम चौधरी, अपर हेँवाखोला हाइड्रोपावरका मजदुर चैनपुर नरपालिका–४ का ५० वर्षीय ज्ञानबहादुर लिम्बू पनि वेपत्ता भएको प्रहरीले जनाएको छ ।