विराटनगर । अविरल वर्षासँगै कोशी प्रदेशका जिल्लामा आएको बाढी पहिरोमा परी याे समाचार तयार पार्दा सम्म ८ जनाकाे मृत्यु भएको छ । ९ जना घाइते भएका छन भने २८ जना बेपता भइरहेकाे प्रहरीले जनाएकाे छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा ताप्लेजुङमा ४ पाँचथर २, भोजपुर र संखुवासभामा एक एक जनाको मृत्यु भएको छ । ती मध्ये पहिरोले पुरेर मृत्यु भएको ५ जना छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुम–८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका– ९ का वर्ष २६ को सन्तोष राई, पाँचथर फालेलुङ– ४ का ८ वर्षीय जुना साउदेन, फिदिम ११ का २८ वर्षीय सन्जोग लिम्बू, पाचथरकै २५ वर्षिय एलिसा माझी रहेका छन ।

यस्तै ताप्लेजुङ फिदिङ्वा–६ वर्ष ३० को गणेश तामाङ, वर्ष ६७ को केशर राई र सोही ठाउँका वर्ष ३६ को सुरेश राई छन् । आइतबार नै कोसी प्रदेशका खानेपानी, सिचाई तथा उर्जा मन्त्री तिलकुमार मेन्याङ्बोको नेतृत्वमा सुरक्षा अधिकारी सम्मिलित टोलीले बाढी पहिरो प्रभावित जिल्लाको हेलिकोप्टरबाट अनुगमन गरेको थियो ।

सो मन्त्रालयका अनुसार जम्मा १५ वटा पुल क्षतिग्रस्त भएका छन् भने १७ स्थानमा सडक अवरुद्ध बनेको छ । यस्तै ५ वटा हाइड्रोमा क्षति पुग्नुको साटै ५४ घर विस्थापित बनेको सो मन्त्रालयले जनाएको छ ।

यस्तै ३ वटा सवारी साधन बाढीले बगाएको छ भने ३२ वटा भवन तथा घरहरु पूर्णरुपमा क्षतिग्रस्त बनेको प्रदेश सरकारले जनाएको छ । आंशीक रुपमा २२ घरमा क्षति पुगेको छ । यस्तै विभिन्न स्थानमा गरी हालसम्म बाढी र पहिरोमा परी ७४ वटा चौपाया तथा ८४ वटा पशु्पंक्षीको मृत्यु भएको छ । हालसम्म पहाडी जिल्लाको ४० रोपनी जग्गा बाढीले बगाइदिएको छ ।