नक्कली शरणार्थी प्रकरण टोपबहादुर र बालकृष्ण सहित १६ जना जेल चलान

विराटनगर । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहितका १६ प्रतिवादी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

ठगी, संगठित अपराध, राष्ट्रहितविरुद्धको कसूर तथा लिखत कीर्तेसम्बन्धी मुद्दाको थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले शुक्रवार यस्तो आदेश दिएको हो ।

दुईजनालाई भने अदालतले भने धरौटीमा छाडेको छ । लक्ष्मी महर्जन र टंक गुरुङ धरौटीमा रिहा भएका हुन । महर्जन ५ लाख र गुरुङलाई १० लाख धरौटीमा रिहा गरिएको छ ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी धन्दामा संलग्न भएको आरोपमा पक्राउ परेका १८ र फरार रहेका १२ गरी ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।

जिल्ला न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा झण्डै २ साता देखि निरन्तर चलेको बहस शुक्रवार सकिएपछि थुनछेक आदेश आएको हो ।

भुटानी शरणार्थी प्रकरणमा प्रहरीले अध्ययन प्रतिवेदनसहितको फाइल जिल्ला सरकारी वकिललाई बुझाएपछि सोही आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा गत जेठ १० गते अभियोगपत्र दर्ता गरेको थियो । लगत्तै अदालतमा अभियुक्तहरुको बयानपछि जेठ २१ बाट थुनछेक बहस सुरु भएर बिहीबारसम्म चलेको थियो । त्यसअघि शुक्रवार सरकारी वकिल र जाहेरीकर्ताका वकिलले जवाफ दिएपछि अदालतको थुनछेक आदेश आएको हो । अदालतमा सरकारी वकिल तथा पीडित तर्फका कानुन व्यवसायीले कुल ३ दिन र प्रतिवादी तर्फका कानुन व्यवसायीले ८ दिन बहस गरे ।

शुक्रबार, ०१ असार, २०८०, साँझको ०६:२३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर