विराटनगर । सशस्त्र प्रहरी बलका डिआईजी अन्जनीकुमार पोखरेले खटाएका घुमुवा प्रहरी निरीक्षकले झापामा आफ्नै प्रहरी कर्मचारी कुटपिट गरेको घटनामा सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) चन्द्रप्रकाश गौतमको नेतृत्वमा केन्द्रीय छानबिन समिति गठन भएको छ।
मेचीनगर नगरपालिका–४ स्थित नेपाल–भारत सीमा नकलबन्दामा मंगलबार राति सशस्त्र प्रहरी निरीक्षक नमप्रभाव राईले सशस्त्र प्रहरी हवल्दारसहित चार जनामाथि कुटपिट गरेको आरोप छ । त्यस घटना बाहिरिएपछि सशस्त्र प्रहरीले एआइजी गौतमको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
एआइजी गौतम प्रधान कार्यालय कार्य विभाग प्रमुख समेत छन् । समितिलाई यथाशिघ्र छानबिन गरी प्रतिवेदन बुझाउन भनिएको छ । यसअघि सोही घटनाको छानबिन गर्न बुधबार नै कोशी प्रदेशस्थित सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका सशस्त्र प्रहरी उपरीक्षक बिक्रम हुमागाईंको अध्यक्षतामा बुधबार नै ५ सदस्यीय समिति गठन गरेको थियो । डिएसपी थापाका अनुसार सशस्त्र प्रहरीले प्रहरी निरीक्षक नमप्रभाव राई, जवानद्वय रामसुन्दर तामाङ र जीवन बास्तोलालाई निलम्बनको तयारी समेत गरेको छ । प्रहरी निरीक्षक राईसँगै दुई जना जवान पनि त्यहाँ पुगेका थिए ।
उनीहरूले सशस्त्र हवल्दार गणेशबहादुर तामाङ, रामबहादुर कार्की, सहायक हवल्दार सन्तबहादुर राई र सशस्त्र जवान उमेश राजवंशीमाथि कुटपिट गरेका हुन् । निरीक्षण गर्दै हिँडेको इन्स्पेक्टरको टोलीले कार्यालयभित्रै कुटपिट गरेका भने होइनन् । इन्स्पेक्टर राईले उनीहरूलाई खोला किनारमा लगेर कुटपिट गरेका थिए । सार्वजनिक स्थानमै कुटपिट भएपछि स्थानीयहरूले पनि देखेका थिए । सादा पोशाकमा रहेका व्यक्तिहरूले सशस्त्र प्रहरीको बर्दीमा रहेकाहरूमाथि कुटपिट गरिरहेको देखेपछि स्थानीयहरूले पनि प्रतिकार गरेको कार्कीले बताए ।