विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले जनताका गुनासो तत्काल सम्बोधन गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् । बिहीबार विराटनगरका बौद्धिक क्षेत्रका प्रबुद्ध व्यक्ति, नागरिक समाजका अगुवा तथा स्थानीयवासीहरुसँग प्रत्यक्ष अन्तरसंवाद गर्दै जनतालाई सेवा प्रवाह गर्ने सवालमा कमजोरी नगर्न आग्रह गरेका हुन् । मुलुकमा सुशासनको अवस्था कमजोर हुँदा सरकार र दलहरुप्रतिको जनविश्वास घट्दै गइरहेकोले त्यसमा सुधार गर्नका लागि सरकारी निकायका जिम्मेवार व्यक्तिहरु बढी जिम्मेवार र गम्भीर बन्नु पर्नेमा उनले जोड दिए ।
अन्तरक्रियाका क्रममा सार्वजनिक सेवा प्रवाहमा सुधार ल्याई सुशासन कायम गर्ने जनप्रतिनिधिहरुले विशेष ध्यान दिनु पर्ने सुझाव विराटनगरका सामाजिक र प्रबुद्ध व्यक्तिहरुले दिएका थिए । काठमाण्डौबाट गृह जिल्ला विराटनगर आएको बेला मन्त्री मोदीले विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थितिमा स्थानीयबासीसँग छलफल गरी गुनासो सुनुवाई र समाधानको प्रयत्न गरेका हुन् । बिहीबार उद्योग संगठन मोरङको सभाहलमा मन्त्री मोदीले झण्डै दुई घण्टा जनताका सरोकारका विषयमा गुनासो सुनेका थिए ।
अन्तरक्रियाका क्रममा लामो समयदेखि हुलाकी सडक निर्माणको काम अगाडि नबढ्दा जनताले सास्ती पाइरहेको भन्दै हुलाकी सडक आयोजनाप्रति गुनासो गरेका थिए । बर्षैंदेखि हुलाकी सडकको योजना सुनिरहेको भएपनि अहिलेसम्म सन्तोषजनक ढंगले काम नभएको भन्दै उनीहरुले सरकारले काम नगर्ने ठेकेदारलाई कारवाही गरेर भएपनि कामलाई गति दिनुपर्ने बताएका थिए ।
छलफलमा सहभागीहरुले कटहरीसम्म रेल–वे विस्तार गर्ने कार्यमा आएको समस्या समाधान गर्न सरकारले गम्भीर पहल नगरेको गुनासो गरेका थिए । रेल–वे को योजना सम्पन्न हुँदा यस क्षेत्रको आर्थिक र सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पर्ने भएकोले छिटो समाधानका लागि उनीहरुले मन्त्री मोदीलाई आग्रह गरे ।
हुलाकी सडक र रेल–वे आयोजनाको विषयमा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले हुलाकी सडकको काम अहिले सञ्चालनमा रहेको भन्दै काम नगर्ने ठेकेदारहरुसँग ठेक्का सम्झौता तोड्ने चरणमा पुग्दा अझ काममा ढिलाइ हुन सक्ने तर्फ पनि ध्यान दिनु पर्ने बताए । उनले भने ‘हामीले ठेकेदार कम्पनीहरुलाई छिटो काम सम्पन्न गर्न दबाब दिइरहेका छौं र आवश्यक कारवाही पनि गरिरहेका छौं । तर ठेक्का सम्झौता नै तोड्ने तहमा पुग्दा अझ आयोजना चार पाँच वर्ष ढिलो हुने हो कि भन्ने तर्फ पनि ध्यान दिएर आवश्यक अन्य कारवाही गरिरहेका छौं ।’ उनले कटहरी र जामुनगाछी खण्डको काम अहिले जारी रहेकोले तत्काल अवरुद्ध गर्ने आदि गतिविधि नगर्न आग्रह गरे । स्थानीयले सडक निर्माणको कामलाई गति नदिए सडकमा ढाट लगाएर बन्द गरिदिने चेतावनी दिएपछि प्रजिअ यादवले त्यसो गर्दा तत्काल सडक निर्माण भइहाल्ने सम्भावना नहुने भएकोले दबाबको अरु विकल्प रोज्नु पर्ने बताए ।
छलफल कार्यक्रममा अधिकांश सहभागीहरुले सडक निर्माणका क्रममा बिजुलीका खम्बाले असर गरिरहेको र खम्बा सार्न विद्युत प्राधिकरणले असहयोग गर्दा विकास निर्माणको काममा नकारात्मक असर गरेकोले त्यसको समाधान गर्न आग्रह गरेका थिए । विद्युतका विषयमा उठेका प्रश्नहरुको विषयमा प्राधिकरणको विराटनगर सेवा केन्द्रका प्रमुखले जवाफ दिएका थिए । सडक निर्माण गर्दा बाटो वा नालामा बिजुलीको खम्बा पर्ने भए सार्नका लागि सम्बन्धित आयोजना सञ्चालन गर्ने निकायले नै खर्च गर्नुपर्ने कार्यविधि रहेको बताए । उनले उक्त कार्यविधि परिवर्तन नगरी प्राधिकरणले खम्बा सार्न सक्ने अवस्था नरहेकोले त्यसका लागि पहल हुनुपर्ने बताए । उनले पछिल्लो समय विद्युतको अधिक माग भएको तर त्यस अनुसार आपूर्ति नहुँदा उद्योग क्षेत्रमा केही समय पालो गरेर विद्युत कटौती गरेको बताए । यद्यपि अब पानी पर्न थालेकोले विद्युत अभावको समस्या कम हुने विश्वास दिलाए ।
सार्वजनिक स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन मन्त्रीहरुले विशेष ध्यान दिनु पर्नेमा, शिक्षा क्षेत्रको बिग्रदो अवस्थामा सुधार ल्याउन पहल गर्नुपर्ने र शिक्षा नीति तत्काल ल्याउन भूमिका खेल्नुपर्ने, मदरसा तथा धार्मिक विद्यालयहरुमाथि सरकारबाटै भइरहेको भेदभावका कारण विद्यालय सञ्चालन गर्नै नसक्ने अवस्था भएपनि कसैले चासो नदिँदा समस्या भएको आदि गुनासाहरु स्थानीयले मन्त्री मोदीलाई सुनाएका थिए । मन्त्री मोदीले छलफलमा आएका विषयलाई सम्बन्धित निकाय मार्फत समाधान गर्न आफूले पहल गर्ने आश्वासन दिएका थिए ।
छलफलमा स्थानीयले खुलेर आफ्ना जिज्ञासाहरु मन्त्री र प्रशासकहरु समक्ष राखेका थिए भने प्रमुख जिल्ला अधिकारी, विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, विभिन्न कार्यालयका प्रमुख, सुरक्षा निकायका प्रमुखहरुले जिम्मेवारीपूर्वक जवाफ दिएका थिए ।
छलफल कार्यक्रममा अर्थशास्त्री पि के झाले सरकारको कार्यशैली र सेवा प्रदायक निकायहरुको व्यवहारप्रति जनताले भरोसा गर्न नसकिरहेको वर्तमान अवस्थामा युवा मन्त्रीले जनतासँग निरन्तर अन्तरसंवाद गर्दै काम गर्ने शैली अवलम्बन गर्नुपर्ने सुझाव दिए । उनले जनतालाई विकास र सुशासनको प्रत्याभूति दिलाउन सक्दा विश्वास र भरोसा गर्ने भन्दै सोही अनुरुप काम गर्न मन्त्री मोदीलाई आग्रह गरे ।
अर्का अर्थशास्त्री भेषप्रसाद धमलाले सरकारले प्रवाह गर्ने सेवालाई अझ प्रभावकारी बनाउनु पर्ने र सुशासनका लागि निरन्तर लाग्नु पर्ने बताए । उनले सरकार र कर्मचारी मात्र नभई नागरिकहरु पनि जिम्मेवार बन्न आवश्यक भएकोले सबैले आफ्ना व्यवहार र कार्यशैलीमा सुधार गर्नसक्दा अहिलेको अवस्थामा सुधार ल्याउन सकिने विश्वास व्यक्त गरे । उनले मन्त्री मोदीको कार्यशैली र काम कारवाहीलाई नजिकबाट नियाली रहेको भन्दै अहिलेसम्म गम्भीर आलोचना र विवादबाट टाढा रहन सफल रहेको भन्दै आगामी दिनमा यस्तै व्यवहारको अपेक्षा गरेको टिप्पणी गरे ।