पूर्वाञ्चल विश्वविद्यालय, राजनीति र यसको साख

 पुण्य पी अधिकारी

पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक विषयलाई लिएर विश्व विद्यालयमा अधिकांश समय तालाबन्दी हुन्छ, हुने गरेको छ । जुन जगजाहेर विषय हो । कहिले परीक्षार्थीका नाममा त कहिले प्रशासनिक विषयलाई लिएर विश्वविद्यालयमा तालाबन्दी हुन्छ । विद्यार्थी सङ्गठनले लगाएको तालाबन्दी तोडेको आरोपमा यही साता विश्व विद्यालय सेवा आयोगका अध्यक्षलाई मोसो दलेर गरिएको दुव्र्यवहार खेदजनक छ ।

विगत २२ वर्षयता राजनीति र शक्तिका आडमा विश्व विद्यालयमा विविध पदमा जागिरमा नियुक्ति हुँदै आएकोमा सेवा आयोगका अध्यक्षले त्यो थितिलाई बदलेर क्षमताका आधारमा वा सेवा आयोगबाट परीक्षा प्रणालीमार्फत पदपूर्तिका लागि प्रक्रिया अघि बढाउँदा कालोमसी छ्यापिएको विषय सतहमा आएको छ । जुन सत्य हो वा होइन । आगामी दिनमा पक्कै सार्वजनिक हुनेछ । राजनीतिले अत्यन्त कमजोर बनाएको पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक परिर्वतनका लागि न त राजनीतिक क्षेत्र, न त विद्यार्थी सङ्गठन नै सम्वेदनशील भएको सेवा आयोगका अध्यक्षलाई गरिएको दुव्र्यवहारबाट छर्लङ्ग भएको छ ।

आयोगले २२ वर्षपछि विभिन्न पदका लागि खुलाएको विज्ञापनमा दरखास्त बुझाएका धेरै परीक्षार्थीले परीक्षा कहिले भयो वा भएन भन्ने नै पत्ता पाएनन् । सेवा आयोगको वेबसाइटमा परीक्षा सम्बन्धी सूचना प्रकाशन नगरी नै नगरी पहिलो पत्रको नतिजा सार्वजनिक गरिएको दरखास्त बुझाएका विद्यार्थीहरूको आरोप छ । अधिकृत पदका लागि २८ सय रुपियाँ दस्तुर तिरेर परीक्षाको तयारी गरेका सोझा र इमान्दार विद्यार्थीको मेहनतमाथि कसरी तुषारापात भएको थियो भन्ने दृश्य कालोमसीले सतहमा ल्याएको छ ।

सेवा आयोगका अध्यक्षले विद्यार्थी सङ्गठनले भनेको अटेर गरी विश्वविद्यालयको काम कारबाही अघि बढाएको आरोपमा कालोमसी पोख्न बाध्य भएको अभिव्यक्ति दिनुले विश्वविद्यालय कति कमजोर छ भन्ने सत्यतालाई उदाङ्गो बनाएको छ । सेवा आयोगका अध्यक्षलाई दुव्र्यवहार गरेको विषयमा विश्वविद्यालयका प्राध्यापक, डाक्टरहरूले विज्ञप्ति निकालेर विरोध त गरेका छन् । तर घटनामा संलग्नलार्ई कारबाहीको माग गर्न डराएको विषयले पूर्वाञ्चल विद्यालयमा कुन हदसम्म राजनीति हुन्छ भन्ने गहिरो रहस्य सार्वजनिक भएको छ ।

देश विकास र समाजमा सकारात्मक परिर्वतनका लागि प्राज्ञिक क्षेत्रको महत्व प्रतिदिन बढ्दो छ । तर, पूर्वाञ्चल विद्यालयका सेवा आयोगका अध्यक्षलाई विद्यार्थी सङ्गठनको नाममा अमानवीय व्यवहार गरेको घटनालाई लिएर विरोधमा प्राज्ञिक क्षेत्रबाट निकालिएको सार्वजनिक विज्ञप्तिमा दोषीलाई कारबाहीको माग नगर्नुले विविध प्रश्न खडा गरेको छ ।

आफूलाई अन्याय भएको विषयमा विरोध र भत्र्सना चाँहि गर्ने तर, घटनाको सत्यसथ्य छानविन गरी दोषीलाई कारबाही माग गर्न नसक्ने प्राध्यापकहरूबाट विश्वविद्यालयले शैक्षिक उन्नयन र समाज परिवर्तनका लागि कुन हदसम्मको योगदान गर्न सक्छ भन्ने अनुत्तरित प्रश्न उब्जिएको छ । प्रहरी प्रशासनले घटनामा संलग्न भएको आरोपमा कोही कसैलाई अनुसन्धानका लागि गिरफ्तार गर्ला, दोषी भए कानुनी कारबाही लागि प्रक्रिया अघि बढाउँला । त्यो छुट्टै विषय हुनेछ ।

तर, दोषीलाई कारबाही हुने अवस्थामा विश्वविद्यालयमा गठन गरिएका विभिन्न पार्टी निकटका प्राध्यापक वा डाक्टरहरूले दोषीको बचाऊमा अर्को राजनीति फण्डा गरेमा पूर्वाञ्चल विश्वविद्यालयप्रति कोही कसैको साख नरहने निश्चित प्राय ः छ ।

बिहिबार, ३२ जेठ, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर